समाचार रोक्न च्यारिटीका शेखले दिए ‘धम्की’, च्यारिटीभित्र खैलाबैला

काठमाडौं । ‘कतार च्यारिटी’ नामक आईएनजिओका कन्ट्री डाइरेक्टर मौले अब्देल अजितविरुद्धको समाचार रोक्न चलखेल भएको छ ।

अजित अबैध रुपमा नेपालमा बसेर तलब, भत्ता लिएको समाचार सार्वजनिक भएपछि कतार च्यारिटीभित्र खैलाबैला भएको छ । समाचार रोक्न र सम्प्रेषण नगर्न च्यारिटीभित्रैबाट दवाव आएको छ ।

कतार च्यारिटीका कन्ट्री डाइरेक्टरविरुद्धको समाचार रोक्न च्यारिटीकै प्रोजेक्ट म्यानेजर इरसाद अली शेखले चलखेल थालेका छन् ।

शेखले शुक्रबार कतार च्यारिटीको समाचार सम्प्रेषण गर्ने पत्रकारलाई अनामनगरमा भेटेर समाचार रोक्न चेतावनी दिएका छन् । उनले समाचार रोक्नका लागि विभिन्न प्रलोभन देखाएको ती पत्रकारले बताएका छन् ।

शेखले कतार च्यारिटीविरुद्ध कसले समाचार दिएको हो भनेर स्रोतको खोजी समेत गरेका थिए । उनको यो कार्यको विरोध भएको छ ।

‘कतार च्यारिटीको समाचार जथाभावी नलेख्न शेखले मलाई सचेत गराएका छन्’, ती पत्रकारले भने, ‘समाचार रोक्ने भन्ने कुरै आउँदैन । बरु अजितविरुद्ध समाज कल्याण परिषदमा परेको उजुरीसहित अन्य विषयहरू पनि सार्वजनिक गर्नेछु ।’

समाचारमा चित्त नबुझे खण्डन पठाउने अधिकार रहेको हुन्छ । तर, सो अधिकारलाई प्रयोग नै नगरी च्यारिटीका शेखले समाचार नलेख्न र समाचारको स्रोत माग गरेका हुन् ।

अजित नेपालमा सात महिना गैह्रकानूनी तरिकाले बसेर कतार च्यारिटीबाट तलब, भत्ता लिएको समाचार सम्प्रेषण भएपछि कतार च्यारिटी र नेपालस्थित साउदी अरबको राजदूतावासमा सो विषयले चर्चा पाएको छ ।

यति मात्रै होइन कतार च्यारिटीको काण्ड लुकाउन ठूलै राजनीतिक दलको एक नेताको नाम पनि मुछिएको छ । कतार च्यारिटीभित्रका अन्य थुप्रै काण्डहरू क्रमशः सार्वजनिक हुनेछ ।

Published : Monday, 2019 November 25, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया