भक्तपुरमा तरुणको भेला, आचार संहित पालना गर्न कम्युनिस्टलाई चेतावनी

भक्तपुर । नेपाल तरुण दलले भक्तपुर क्षेत्र नम्बर १ ‘क’मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा उम्मेदवार बनेका कृष्णलाल भँडेललाई विजयी बनाउन तरुणहरुको आन्तरिक छलफल र भेला गरेको छ ।

नेपाल तरुण दल चागुनारायण नगरपालिका वडा नम्बर १ कार्य समितिको शुक्रबार भएको भेलाले पार्टीका उम्मेदवार भँडेललाई विजयी बनाउन सबै प्रयास गर्ने सहमति गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उपनिर्वाचनका लागि केनद्रबाट खटिएका प्रतिनिधि मोहन बहादुर बस्नेतले निर्वाचनको परिणाम जसरी पनि कृष्णलाल भँडेलेको पक्षमा आउनुपर्ने बताए ।

उनले कांग्रेसले जित्दा मात्रै मुलुकको जित हुने भन्दै कम्युनिस्टहरुले देशलाई बर्बाद बनाएको बताए ।

‘कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई जिताउन चागुनारायणका मतदाताहरु आतुर छन् । कम्युनिस्टहरुको कर आतंकबाट जनता आजित बनेका छन्’, उनले भने, ‘कांग्रेसको जित अनिर्वाय छ । जसरी पनि कांग्रेसलाई जिताउनुपर्छ । तपाई तरुणहरुले सोहीअनुसार लाग्नुस् ।’

नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल व्यक्तिलाई भन्दा पनि लोकतन्त्रको रक्षाका लागि तरुणहरु लाग्नुपर्ने बताए ।

‘कृष्णलाल भँडेल एउटा व्यक्ति हुनु होला । उहाँले जित्नु र हार्नुभन्दा पनि उहाँको जितले कम्युनिस्टहरुका गलत कुरालाई रोक्न सकिन्छ’, उनले भनेका छन् ।

तरुण दल वडा नम्बर १ का अध्यक्ष रामकुमार केसीले पार्टीका उम्मेदवारलाई विजयी बनाउन आफूले सक्दो सहयोग गर्ने बताए ।

तरुणको भेलाले मंसिर १४ गतेसम्म सम्पूर्ण शक्तिका साथ प्रचार प्रसारमा खटिने निर्णय भएको छ ।

निर्वाचनको प्रचार प्रसारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार र उनका प्रचारकहरुले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगलाई त्यसमा ध्यान दिन आग्रह गरिएको थियो ।

Published : Saturday, 2019 November 23, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया