कम्युनिस्ट भनेका धोकेवाज हुन्, जनतालाई सधै झुक्काउँछनः पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने बताएका छन् ।

पोखरामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको बताए ।

उनले उम्मेदवार खेमराज पौडेललाई तपस्वी नेताको संज्ञा दिए । साथै खेमराजको सम्मानका लागि अत्यधिक मत दिएर जिताएर पठाउन आग्रह गर्दै नेता पौडेलले खेमराजको जितसंगै मुलुकको मुहार फेरिने दावी गरे ।

‘खेमराजले चुनाव जितेर सांसद मात्रै बन्दैनन्’, उनले भने, ‘अधिनायकवादी कम्युनिष्ट सरकारलाई लोकतान्त्रिक बाटोमा हिंडाउन पनि सघाउँछन् ।’

महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागिपरेको आरोप लगाए ।

‘सरकार मुलुकको हितमा, जनताको हितमा, लोकतन्त्र, संविधानको हितमा, संघीयता, गणतन्त्र, समावेशिताको हितमा छैन’, उनले भने, ‘सरकार सच्चिनका लागि पनि यो चुनाव कांग्रेसले नै जित्न आवश्यक छ ।’

केन्द्रीय सदस्य डा.रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाए ।

‘सुशासन, समृद्धि, शान्ति र सुखको ठूला ठूला भाषण गर्ने कम्युनिष्ट कस्ता रहेछन् भन्ने यो २ वर्षमै देखिएको छ’, उनले भने, ‘कम्युनिष्ट देश र जनताको हितमा कहिल्यै हुन सक्दैनन् ।’

Published : Saturday, 2019 November 23, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया