धरानले धोकेबाज कम्युनिस्टलाई होइन, कांग्रेसलाई जिताउनुस्ः खतिवडा

धरान । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले धरानबाट जितेर जाने कम्युनिस्टहरूले कहिल्यै पनि धरानको विकासमा ध्यान नदिएको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले बुधबार धरानमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले धरानलाई सधैँ झुक्याउने कम्युनिस्टहरूलाई मतदान नगरेर नेपाली कांग्रेसको पक्षमा मतदान गर्न अपील गरे । उनले तिलक राई धरानको विकास गर्न आतुर रहेको बताए ।

‘धरानले ०४८ सालदेखि जहिले पनि नेपाली कांग्रेसलाई विजयी गरायो । नेपाली कांग्रेसलाई पराजय पनि गरायो’, उनले भने, ‘कम्युनिस्टलाई विजयी गरायो । कम्युनिस्टले सधैँ धरानलाई हराए ।’

‘धरानबाट ब्रिटिश क्याम्प हट्ने वित्तिकै धरान खोक्रो हुने अवस्थामा सिर्जना भएको हुँदा नेपाली कांग्रेसका तत्कालीन सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वीपी विज्ञान प्रतिष्ठानको उद्घाटन नगरेको भए आज धरान कहाँ पुग्थ्यो ?’, उनले भनेका छन् ।

‘तपाईहरूले सधैँ निर्वाचित गरेका मान्छेले धरानलाई जिताउने काम कहिल्यै गरेनन्’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘कम्युनिस्टहरूले आफूले जितेर मजदुरका नाममा काठमाडौंमा महल निर्माण गरे । सधैँ धरानलाई हराए ।’

‘त्यसैले कांग्रेसलाई एक पटक विजयी गराइदिनुस् भनेर अनुरोध गर्छु’, उनले भनेका छन् ।

‘राष्ट्रवादको नाममा चुनाव जितेर आउने कम्युनिस्टहरू विदेशीका दाह्री भएका फोटो बोकेर तपाईहरूका अगाडि आउँछन्’, खतिवडाले भने, ‘कहिले माक्र्सको, कहिले लेनिनको, कहिले माओको, हामीले नेपाली कांग्रेसका कार्यकर्ताहरू नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री, जसले जनताको छोरो प्रधानमन्त्री हुनुपर्छ भन्यो । जसले राणाहरूलाई फाल्यो त्यसको फोटोमा माल्याणपन गर्छौं ।’
https://www.facebook.com/hukum.wambule/videos/2790985297579770/

‘विदेशीको फोटोमा माल्याणपन गर्नेलाई भोट दिने कि हामीलाई भोट दिने तपाई आफैले निर्णय गर्नुस्’, उनले भने, ‘विकासका नाममा चुनाव जितेर जाने, मीठामीठा कुरा गर्ने, सपना बाँड्ने विपनामा जनतालाई सधैँ शून्य दिने पार्टी भोट नदिनुस्, नेपाली कांग्रेसलाई भोट दिनुस् ।’

‘हामीले चुनाव लड्ने कम्युनिस्टसँग हो । हिजोका पुरातनवादी शक्तिसँग हो’, उनले भने, ‘हिजोसम्म जनमतमा होइन बन्दुकले शासन गर्छौं भन्ने कम्युनिस्टहरू बन्दुक छोडेर जनमतमा आउनु हाम्रो जित भएको छ । त्यसैले तिलक राईको यो जितमा धरानका मतदाताहरू एक भएर लाग्नुपर्छ ।’

नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा तिलक राईलाई मेयरमा उम्मेदवार बनाएको छ । राईले आफ्नो चुनावी कार्यक्रमलाई तिब्र गतिका साथ अगाडि बढाएका छन् ।

Published : Wednesday, 2019 November 20, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया