कांग्रेस उम्मेदवारलाई जिताउने भक्तपुर तरुणको घोषणा

भक्तपुर । नेपाल तरुण दल भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेसको प्रदेशतर्फका उम्मेदवार कृष्णलाल भँडेललाई विजयी बनाउन सबै प्रकारको सहयोग गर्ने निर्णय गरेको छ ।

भक्तपुरमा सोमबार बसेको तरुण दलको बैठकमा अध्यक्ष राजु थापाले उपनिर्वाचन नेपाली कांग्रेसका लागि जीवनमरणको सवाल रहेको बताए ।

उनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट जनता आजित बनेको भन्दै सरकारलाई सहि बाटोमा ल्याउनका लागि पनि उपनिर्वाचन जित्नुपर्ने बताए ।

‘उपनिर्वाचन जित्दैमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने होइन’, थापाले भने, ‘अधिनायकवादतर्फ जाँदै गरेको कम्युनिस्ट सरकारलाई सहि बाटो देखाउनका लागि पनि उपनिर्वाचनमा कांग्रेसको जित आवश्यक छ ।’

तरुण दल भक्तपुरका अध्यक्ष थापाले काठमाडौं उपत्यकाभित्र हुन लागेको उपनिर्वाचनलाई देशैभरिबाट चासोका रुपमा हेरिएको भन्दै प्रचार प्रसारमा खटिन निर्देशन दिएका थिए ।

भक्तपुर क्षेत्र नम्बर १ चागुनारायणको प्रदेश ‘क’मा उपनिर्वाचन हुँदै छ ।

उपनिर्वाचनमा तरुणहरूलाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा सोमबार छलफल भएको थियो ।

Published : Monday, 2019 November 11, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया