चितवनको आफ्नै गाउँमा सम्मान पाएपछि भावुक बने प्रवीण
भरतपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व संयोजक प्रवीण गुरुङलाई गृहजिल्ला चितवनमा सम्मान गरिएको छ ।
पश्चिम चितवनको गुञ्जनगरमा गुरुङ सम्मानित भएका हुन् । सम्मान हुँदै गर्दा गुरुङ भावुक बनेका थिए ।
कतारमा सफल युवा व्यवसायीका रुपमा स्थापित गुरुङले आफ्नो पहिचानसँगै गाउँको पहिचान समेत बढाएको भन्दै स्थानीयवासीले भव्य कार्यक्रमका वीच सम्मानित गरेका हुन् ।
गुरुङलाई भरतपुर महानगर वडा नम्बर १८ का वडाध्यक्ष दीपक लामा, जयवुद्ध टोल विकास संस्थाका अध्यक्ष आशराम पाख्रिनसहित गाँउवासीले बृहत सांस्कृति कार्यक्रमको अवसर पारेर सम्मानपत्र र खादा लगाएर सम्मानित गरेका थिए ।
वडाध्यक्ष लामाले गुरुङको योगदान र संघर्षको प्रशंसा गरे । उनले भने, ‘पृथक सोँच र भिन्न पहिचानका साथ गुरुङको छोरो भएर पल्टनदेखि युवा सफल व्यवसायी हुँदै एनआरएनएको मध्यपूर्व संयोजकसम्म सर्वसहमत निर्वाचित भई थप उचाइँ बनाएको तपाईलाई बधाइ छ ।’
एनआरएनए मध्यपूर्व संयोजक गुरुङले आफ्नै गाउँवासीबाट पाएको सम्मानलाई थप उचाइँमा पुरार्याउँदै सामाजिक सेवामा थप सक्रिय बन्ने प्रतिवद्धता जनाए । उनले आफ्नो गाउँमा छिटै रचनात्मक नयाँ खालको कार्यक्रम ल्याउने बताए ।
हाइवे नेटर्वक नेपाल, आर ब्बवाईज र जयुबुद्ध टोल विकास संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका संयोजक प्रदीप लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडासचिव रामकृष्ण ढकाल, पत्रकार राजेन्द्र आचार्य, प्रहरीका सहायक निरीक्षक राम यादव, दीपेन्द्रकुमार श्रेष्ठ, शान्ति गुरुङ, रेना गुरुङ लगायतका अतिथिहरू रहेका थिए ।
भरतपुर महानगरपालिका गुन्जनगरका गुरुङ सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् ।
गुरुङले सन् २०११ मा एनआरएनए कतारको पञ्जिकृत सदस्यता लिएका थिए ।
उनी एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्वितीय उपाध्यक्ष रहेका थिए ।
उनले २२ वटा बढी कम्पनी कतारमा सञ्चालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार पुगेका थिए ।
नेपाली कांग्रेस निकट मानिने गुरुङले एक महिना अगाडि काठमाडौंमा सम्पन्न एनआरएनएको निर्वाचनका बेला राम्रो छाप बनाउन सफल भएका थिए । नेपाली कांग्रेसका नेताहरूसँग उनको राम्रो सम्बन्ध छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया