तरुणसँग खसी माग्ने डीएसपीको ‘पुच्छर’ बन्यो बाँकेको नेकपा

नेपालगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले नेपाल तरुण दलका नेताहरूसँग खसी माग्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीको बचाउमा उत्रिएको छ ।

नेकपा बाँकेका अध्यक्ष ईन्द्रप्रसाद खरेल र सचिव अशोक कोइरालाले मंगलबार विज्ञप्ति जारी गरेर खसी माग्ने र नदिए तिघ्रा छेड्ने धम्की दिने डीएसपी शाहीको बचाउ गरेका हुन् । नेकपाले डीएसपी शाहीमाथि राजनीति गर्न खोजिएको जनाएको छ ।

डीएसपी शाहीमाथि राजनीति गरेर दोषीलाई बचाउने काम गरेको भन्दै नेकपा बाँकेले घटनालाई राजनीतिक रंग नदिन भनेको छ ।

डीएसपी शाहीमाथि लगाएको आरोप प्रहरीमाथिको हस्तक्षेप भएको भन्दै आफ्ना अपराधकर्म लुकाउन विभिन्न षड्यन्त्र हुन थालेको नेकपा बाँकेले जनाएको छ ।

खसी नपाएको झोँकमा तिघ्रा छेड्ने धम्की दिएका डीएसपी शाहीले नेपाल तरुण दलका नेपालगञ्ज नगर समितिका अध्यक्ष सन्दीपजंग शाहसहित छ जना तरुण नेताहरूलाई पक्राउ गरेका थिए । अध्यक्ष शाहको गाडीबाट पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल तरुण दल बाँकेका नेताहरूले घटनालाई आफूहरूले कुनै प्रकारको राजनीति नगरेको बताएका छन् । उनीहरूले नेकपा बाँकेको विज्ञप्तिप्रति आश्चर्य व्यक्त गर्दै तरुण नेताहरूले खसी माग्ने डीएसपी शाहीको ‘पुच्छर’ नबन्न चेतावनी दिएका छन् ।

Published : Tuesday, 2019 November 5, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया