भारतको सहयोगमा हेटौंडामा नेपाल–भारत मैत्री पोलिटेक्निक बन्दै
हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्लाको हेटौंडामा स्थित नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरेका छन् ।
हेटौँडामा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा.अजय कुमारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश ३ का आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटिइभिटी)का सदस्य सचिव पुष्परमण वाग्ले लगायत ६ सयभन्दा बढी स्थानीय तथा विद्यार्थीको उपस्थिति थियो ।
व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको भारतीय रुपियाँ ३८.५३ करोड अनुदान सहयोगमा निर्माण भइरहेको छ ।
निर्माण कन्सल्टेसी प्रा.लिले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा टेलिकम्युनिकेशन कन्सल्टेन्ट ईण्डिया लिमिटेडले परियोजना ठेकदारको रुपमा ३२ एकडभन्दा बढी क्षेत्रफलमा यस पोलिटेक्निकको निर्माण गरिरहेका छन् ।
पोलिटेक्निक परियोजनाको कूल निर्माण क्षेत्रफल १९,२०० वर्ग मिटर रहनेछ । यस पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको छ ।
यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
परियोजना शुभारम्भ कार्यक्रम भारत–नेपालबीच रहेको मैत्री सम्बन्धको अर्को प्रमाण हुनुका साथै व्यवसायिक तथा सीप विकासका क्षेत्रमा पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासमा हातेमालो गर्ने भारत सरकारको प्रतिबद्धताको रुपमा रहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया