सात प्रदेशका प्रमुख हटाएर सरकारले द्वन्द्व निम्ताएकाे ठहर, तरुणले सशक्त प्रतिवाद गर्ने
काठमाडौं । नेपाल तरुण दलले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले अधिनायकवादको शुरुवात गरेको भन्दै आक्रोश जनाएको छ ।
सात प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाउने कम्युनिस्ट सरकारको निर्णयको तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले बिरोध जनाएका हुन् ।
‘संविधान र कानूनअनुसार नियुक्त भएका प्रदेश प्रमुखहरूलाई हटाएर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले संघीयताको मर्म र भावना विपरितको कार्य गरेको छ’, आइतबार साँझ विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘संघीयता कामजोर बनाउने कार्यको नेपाल तरुण दलले भर्त्सना गर्दछ ।’
कम्युनिस्ट सरकारको यो निर्णयले विपक्षीसँग द्वन्द्व बढाउने काम गरेको चापागाइँले बताएका छन् । ‘कम्युनिस्ट सरकारले जनताको काम गर्नुको साटो आफ्ना आसेपासेहरूलाई जागिर खुवाउने कामरित लागेको छ’, उनले भनेका छन्, ‘यस्ता पूर्वाग्रही कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फाइदा हुँदैन ।’
उपाध्यक्ष चापागाइँले एकमुष्ट रुपमा सबै प्रदेश प्रमुखलाई हटाउनु राजनीतिक पूर्वाग्रह भएको बताएका छन् । यस्ता हर्कत विरुद्ध नेपाल तरुण दलले राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
प्रदेश प्रमुखलाई २०७४ माघमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेको थियो ।
उपचुनावका लागि आचारसंहिता समेत लागू भइसकेको अवस्थामा प्रदेश प्रमुख हटाउने र नियुक्त गर्नु नैतिकतापूर्ण नहुने उनले बताएका छन् ।
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाएपछि नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरूले बिरोध गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया