नेटवर्किङ व्यवसायका चार जना ठग बर्दियामा पक्राउ

बर्दिया । बर्दिया जिल्लामा नेटवर्किङ व्यवसायमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओरियन्स ग्लोबल मार्केटिङ प्रा.लि नामक बहुराष्ट्रिय कम्पनीमार्फत नेटवर्किङ व्यवसायको नाममा बर्दिया, बाँके, कैलाली, कंचनपुर, दाङ लगायतका जिल्लाहरूमा ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया नगरपालिका ४ बस्ने विवेक थारु, हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नगरपालिका ७ बस्ने २० वर्षीय दीपक चौधरी र राजापुर नगरपालिका ३ बस्ने आशा थारु रहेका छन् ।

नेटवर्किङ कम्पनीमा प्रवेश गर्नको लागि १ हजार रुपियाँको सदस्यता लिनुपर्ने, सदस्यता लिएकाहरूलाई ४ दिनको तालिम दिइने र तालिम पश्चात ती सदस्यहरूले अनिवार्य रुपमा २ जना सदस्य बनाउनुपर्ने सर्त राखेर ठगी कार्य गरेको प्रहरीले जनाएको छ ।

सदस्य बनिसकेपछि १० देखि २० प्रतिशतसम्म छुटमा औषधि पाउने, नयाँ सदस्य थपेपछि बोनस पाउने, डाईमण्ड बढ्दै गएपछि रिवार्ड पाउने, पद बढ्दै गएपछि प्रोडक्टमा २४ प्रतिशतसम्म छुट पाउने सुबिधा, अनर बोनस स्वरुप कम्पनीको २ प्रतिशतसम्म फाइदा हुने जस्ता विभिन्न पद तथा पैसाको प्रलोभनमा पारी उनीहरुले ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नेटवर्किङ व्यवसायको अनुसन्धान गर्ने क्रममा कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका करीव २ सय जना सर्वसाधारणलाई प्रहरीले सीमा नाकाबाट उद्दार गरिसकेको छ ।

ओरियन्स ग्लोबल मार्केटिङ प्रालि नेपालमा क्रिष्टल केयर नामक संस्थाबाट तथा भारतको चेन्नईमा प्रधान कार्यालय तथा दिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल भारतको सिमा नजिक लखीमपुर भन्ने स्थानमा न्याचुरल वेल इन्टरप्राइजेज नामक उपशाखा कार्यालय खोली आफ्नो फुड प्रोडक्टको नेटवर्किङ व्यवसाय संचालन गरिरहेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर ठगी शीर्षक मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Published : Saturday, 2019 November 2, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया