सामाजिक सदभाव कायम राख्न आयोगका अध्यक्ष अन्सारीको अपील

काठमाडौं । मुस्लिम आयोगले कपिलवस्तुको कृष्णानगरमा भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार विज्ञप्ति जारी गरेर एक जनाको ज्यान जाने गरेर भएको घटनाप्रति दुःख प्रकट गरेका हुन् । उनले सबैलाई संवेदनशीतालाई ध्यानमा राख्न अपील गरेका छन् ।

‘कात्तिक १३ गते कपिलवस्तुको कृष्णानगरमा लक्ष्मी पूजाको मूर्ति विर्सजन गर्ने सिलसिलामा स्थानीय समुदायबीच विवाद सिर्जना भई द्वन्द्वको अवस्था सिर्जना हुन गएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष अन्सारीले भनेका छन्, ‘घटनामा एक जनाको निधन भएकोमा आयोग गहिरो दुःख प्रकट गर्दछ ।’

‘घटनाको सम्वेदनशीलतालाई ध्यानमा राखी शान्ति सुरक्षा कायम राख्न उच्च सर्तकता अपनाउन र घाइतेको लागि उचित स्वास्थ्य उपचार व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षणको लागि आयोग आग्रह गर्दछ’, आयोगले भनेको छ ।

‘बहुजाति, बहुभाषी र बहुधार्मिक विशेषताले भरिएको हाम्रो मुलुकमा धार्मिक संहिष्णुता तथा सामाजिक सदभाव कायम राख्न सम्बन्धित सबै समुदायसँग आयोग हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा अध्यक्ष अन्सारीले भनेका छन् ।

Published : Friday, 2019 November 1, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया