पूर्वी दाङमा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, २३ घाइते

घोराही । पूर्वी दाङको देउखुरी उपत्यकामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

शुक्रबार साढे तीन बजे पिकनिक खाएर घर फर्कदै गरेको ट्याक्टर चिसापानीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा दाङ जिल्ला गढवा गाउँपालिका ६ मनिकापुर बस्ने टीका पुनको दुई छोरीको ज्यान गएको छ । ज्यान जानेमा वर्ष ११ कि निनु पुन र वर्ष १२ की सुनिता पुन रहेका छन् । ज्यान जानेमा कमल परियारको छोरी वर्ष १२ कि सीमा परियार रहेकी छिन् ।

गढवा गाउँपालिका ६ मनिकापुरबाट भैलो खेली उठेको पैसाले चिसापानीमा पिकनिक खाई घरतर्फ फर्कने क्रममा गढवा–कोइलाबास सडक खण्डको चिसापानी भन्ने स्थानमा रा १ त २३९३ नम्बर को ट्याक्टरको पछिल्लो भाग (ट्रली) पल्टिँदा तीन जनाको ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।

उक्त ट्याक्टरमा २६ जना सवार रहेकामा सबै घाइतेलाई स्वास्थ्य चौकी गढवा दाङ र लमही अस्पताल लमही दाङमा उपचार गर्न पठाइएको थियो । उपचारकै क्रममा तीन जनाको मृत्यु भएको थियो ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । १९ जना घाइतेको अवस्था सामान्य रहेको छ ।

ट्याक्टर र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेमा मनिकापुर बस्ने वर्ष १२ कि मनिका राना, वर्ष २६ का प्रसान्त केसी, वर्ष १२ कि सुजाता आले, वर्ष १४ का विवेक पुन मगर वर्ष १२ का आकाश राना, वर्ष ११ का सुशील परियार, वर्ष १२ का आयुष शाह, वर्ष १३ का आयुष केसी, वर्ष १३ का विपिन राना, वर्ष १५ कि भीमाकुमारी घर्ती रहेका छन् ।

केही घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेज र लमहीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2019 November 1, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया