बारामा साढे ३९ लाखको सामान बरामद, तस्करहरूलाई तनाब
सिमरा । जिल्ला प्रहरी कार्यालय बाराले साढे ३९ लाख बराबरको अबैध सामान बरामद गरेको छ ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुरबाट बारा प्रहरीले भारतबाट अवैध रुपले चोरी तस्करी गरी नेपाल भित्र्याइएको ३९ लाख ४६ हजार ६१ रुपियाँ बराबरको कपडा बरामद गरिएको हो ।
बारा प्रहरीका प्रमुख एसपी विकास खनालले शुक्रबार कलैयामा पत्रकार सम्मेलन गरी बरामद भएको कपडा स्थानीय संजय जयसवालको घरबाट कब्जा गरिएको जानकारी दिए । उनले स्थानीय प्रहरीको नजर छलेर अबैध कपडाहरू नेपाल भित्र्याइएको बताए ।
बरामद भएको कपडा आवश्यक कानूनी कारवाहीका लागि वीरगञ्ज भन्सार पठाइने एसपी खनालले बताएका छन् ।
गोदामको रुपमा भण्डारण गरिएको जैसवालको घरबाट बहुमूल्य साडी, सुटिङ–सर्टिङका कपडा, कुर्ता सुरुवाल, थान कपडा, लहंगा, गम्छा, बच्चाको कपडा ठूलो परिमाणमा फेला पारिएको बारा प्रहरीका प्रमुख एसपी खनालले बताए ।
जैसवालको घरमा प्रहरीले बिहीबार साँझ करीब ६ बजे खानतलासी गरेको थियो ।
बारा प्रहरीले चोरी तस्करी नियन्त्रण गर्न सक्रियता बढाएपछि धमाधम चोरी तस्करीको मालसमान फेला पर्न थालेको छ । दशैँका बेला पनि बारा प्रहरीले ठूलो परिमाणको अबैध सामान बरामद गरेको थियो ।
भारतबाट अवैध रुपले चोरी तस्करी गरी नेपाल भित्र्याइएको अवस्थामा साउन महिनापछि मात्रै ३ करोड २ लाख १४ हजार ५ सय २७ रुपियाँ मूल्य बराबरको मालसमान बरामद गरिएको छ ।
चोरी तस्करीको माल ढुवानीमा संलग्न ४८ वटा सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको एसपी खनालले बताए ।
यीमध्ये ६ वटा कार र जिप, ३४ वटा मोटरसाईकल, २ वटा ट्रक, ६ वटा साईकल नियन्त्रणमा लिई कारवाही गरिएको छ ।
चोरी तस्करीमा संलग्न १९ जना मानिसलाई पक्राउ गरी कारवाहीको लाग राजस्व अनुसन्धान विभाग कार्यालय पथलैया र मूल भन्सार कार्यालय वीरगंजमा पठाइएको छ ।
बारा प्रहरीले कपडा, पटाखा, चाँदीका गरगहना, मरिच, सुन, इलेक्ट्रोनिक सामान, सुर्तीजन्य पदार्थ, औषधि, तयारी कुखुरा, सवारी साधका पुर्जा लगायतका सामान बरामद गरिसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया