खतिवडाले गरे चकित पर्ने खुलासा, ‘यौनकाण्ड’मा महरा–राईलाई विभेद

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संविधान र कानून सबैका लागि बराबर भएको भन्दै शक्तिको आडमा कसैलाई ऐन र कसैलाई चैन गर्न नपाइने बताएका छन् ।

गृहजिल्ला ओखलढुंगाको मानेभञ्ज्याङमा मंगलबार नेपाली कांग्रेस निकटको नेपाल राष्ट्रिय मगर संघको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले शक्ति र सत्ताको आडमा कसैलाई संरक्षण र कसैलाई कारबाही हुन थालेको संकेत गरेका हुन् । उनले अनुसन्धानपछि दोषी पाइए कानूनअनुसार सबैलाई कारबाही हुनुपर्ने बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का निवर्तमान सांसद कृष्णबहादुर महरा र प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईलाई लागेको यौनदुर्व्यवहारको आरोपप्रति संकेत गर्दै खतिवडाले दुबैलाई बराबरीको कानूनी व्यवहार हुनुपर्ने बताएका हुन् ।

संसद सचिवालयकी महिला कर्मचारीलाई यौनदुर्व्यवहार गरेको अभियोगमा महराले सभामुख पद गुमाइसकेका छन् भने प्रहरीको हिरासतमा बस्न बाध्य भएका छन् ।

महराकै जस्तो आरोप लागेका प्रदेश १ का मुख्यमन्त्री राईलाई भने कुनै पनि कारबाही भएको छैन । राईको यौनदुर्व्यवहारको घटनालाई लुकाउन खोजिएको आरोप छ ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको दोहोरो नागरिकताका विषयमा पनि प्रश्न उठाएका छन् ।

‘मुस्लिम आयोगका अध्यक्षको दुई वटा नागरिकता भएको कुरा आउँदा पनि कारबाही भएको छैन’, उनले भने, ‘कसैलाई नागरिकताका विषयमा ठूलो बद्नाम गरिएको छ ।’

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले कम्युनिस्ट र कांग्रेसका नेताहरूलाई पनि राजनीतिक पूर्वाग्रही भएर कारबाही गर्न थालेको गन्ध आउन थालेको खतिवडाले बताए ।

‘दोषी कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । जति शक्तिशाली भएपनि कारबाही गर्नुपर्छ’, उनले भने, ‘आफ्नालाई छुट, फरक धारणा राख्नेलाई कारबाही गर्ने कुरा सैह्य छैन ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले देशकै पहिलो शहीद लखन थापाको सम्मानमा राज्यले बेवास्ता गरेको गुनासो पनि गरे ।

‘लखन थापालाई मुलुककै पहिलो शहीद भन्ने गर्छौं । तर, शहीद गेटमा उहाँको शालिक छैन’, उनले भने, ‘लखन थापालाई राष्ट्रिय रुपमा सम्मान गर्ने गरी काठमाडौंमा प्रतिमा बनाउनुपर्छ ।’

उनले वर्तमान दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको नालायकीले गर्दा पनि शहील लखन थापाको सम्मानमा काम हुन नसकेको बताए । उनले राजनीतिक रुपमा पनि मगर समुदायलाई माथि लैजान नसकिएको स्वीकार गरे ।

नेपाली कांग्रेसले बिगतमा दलसिंह थापा, कालुराम राना, बाबुराम रानालगायतलाई सांसद बनाएर थोरै भएपनि राहत दिने प्रयास गरेको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सचिव ईच्छु राना, ओखलढुंगाका अध्यक्ष निरबहादुर आलाले लगायत जिल्लाका स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2019 October 22, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया