फुटेर गएका साना राप्रपाहरूलाई घर फर्किन अपील
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्माणबारे बहस शुरू गर्न प्रस्ताव गरेका छन् ।
राप्रपाको २९औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राजादेखि विप्लव माओवादीसम्म सबै अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्माण गर्नेबारे बहस शुरू गर्नुपर्ने बताए ।
उनले कसैलाई निषेधित गरिँदा लोकतन्त्रमाथि खतरा भइरहने भएकोले यसतर्फ सचेत रहन सबै राजनैतिक दलहरूलाई आग्रह गरे ।
परिवर्तनको नाममा लादिएको गणतन्त्रात्मक राजनीतिक अभ्यासले जनतालाई के फाइदा भयो ? भन्दै अध्यक्ष थापाले ठण्डा दिमागले सोँचेर सबै समेटिने अवस्थाको सिर्जना गरिनुपर्ने बताए ।
यही अवस्थाले निरन्तरता पाउँदै जाने हो भने गरिबी र वेरोजगारी समस्या, भ्रष्टाचार, सनातन धर्ममाथि संगठित र योजनावद्ध रुपमा भइरहेको आक्रमण, सर्वसत्तावादी प्रवृत्ति, वाह्य शक्तिको हस्तक्षेप तथा देश विखण्डनको खतरा र नयाँ माओवादीको पुनः उदय जस्ता चुनौतीसँग सामना गर्न राज्यले नसक्ने उनले बताए ।
राप्रपाले २०७६ साललाई पार्टीको संगठन निर्माण वर्षको रुपमा लिएर अघि बढिसकेको भन्दै अध्यक्ष थापाले ७५३ वटै स्थानीय निकायमा पार्टीका भातृसंगठनहरुको गठन सँगसँगै जनमुखी एवं जनसंघर्षका कार्यक्रमहरू गर्दै जाने रणनीति अनुसार पार्टी अगाडि बढेकोले समान विचारधारा बोकेका पार्टी तथा संगठनहरूलाई एकता गरेर बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न आह्वान समेत गरे ।
पार्टीले अघि सारेका एजेण्डालाई गन्तव्यमा पुर्याएर मात्र विश्राम लिने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष थापाले यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले फुटेर गएका साना राप्रपाहरूलाई आफूले नेतृत्वको गरेको राप्रपामा फर्किन पनि आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले पार्टीको संस्थापक मुलधार राप्रपा नै भएकोले राप्रपा संयुक्त एवं समान विचारधारा बोकेका अन्य संगठनहरुलाई मूलधारमा समाहित हुन आग्रह गरे ।
सम्बोधनकै क्रममा पार्टीका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनले पार्टीले जनतालाई एजेण्डाबारे राम्रोसँग बुझाउन नसक्दा हार व्यहोर्नु परेको बताए । उनले अहिले जनताले विकल्प खोजिरहेको हुँदा राप्रपानै अहिलेको विकल्प भएकोले राप्रपाको झण्डामुनी गोलबद्ध हुन सबैमा आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत