सबै प्रकारको दमनबाट मुक्ति पाउनुपर्छः शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६३औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिएका छन् ।
देउवाले शनिबार सन्देश जारी गरेर सम्पूपर्ण देशवासी र बौद्धधर्मालम्बीहरूलाई शुभकामना दिएका हुन् ।
‘म बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्दछु’, देउवाले भनेका छन् ।
‘नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरू सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको छ’, उनल भने, ‘यो ऐतिहासिक उपलब्धीपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको शान्ति र आर्थिक विकास नै हो ।’
‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ’, देउवाले भने, ‘त्यसैले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो ।’
‘विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन’, सभापति देउवाले भने, ‘शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरू रहेका छन् ।’
उनले भने, ‘हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ ।’
‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौं’, देउवाले भने, ‘अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । बुद्ध जयन्तीको अवसरमा यही मेरो हार्दिक शुभ–कामना ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत