ओली सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेपछि कांग्रेसले गरायो सचेत

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले संसदमा हालै दर्ता गराएको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ ले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ ।

ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिमा नेपाली कांग्रेसले सूचना प्रविधि सम्बन्धी विधेयकले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रालाई नै असर पर्ने र गर्ने गरी निर्मित प्रावधानहरूप्रति गम्भीर चासो, चिन्ता र आपत्ति प्रकट गरेको जनाएको छ ।

‘सामाजिक सञ्जालको प्रयोगमा रहेका कतिपय वेथिति नियन्त्रण गर्न राज्यले राख्नु पर्ने सर्तकताप्रति कसैको विमति हुन्न तर, त्यसका नाममा सामाजिक सञ्जाललाई क्रमशः बन्देज लगाउने स्थितिप्रति कदापि समर्थन जनाउन सकिन्न’, कांग्रेसले भनेको छ, ‘अतः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सो विधेयकका अनुदार प्रावधानहरु सच्याउन नेपाल सरकारलाई सचेत गराउन चाहन्छ ।’

कांग्रेसले भनेको छ, ‘फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने केही प्रावधान सच्याउन जारी रहेको नेपाली कांग्रेसको पूर्ववतः धारणा पुनः स्मरण गराउँदै यो बैठक सो संहितालाई संशोधन गरिनु पर्ने आवश्यकताप्रति गम्भीर हुन र संशोधन प्रकृया प्रारम्भ गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता विपरित सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको तथा प्रेस स्वतन्त्रतालाई समेत बन्देज लगाउने गरेर विधेयक ल्याएको भन्दै कांग्रेसले विरोध जनाएको छ ।

Published : Sunday, 2019 February 24, 8:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया