सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री मौन, कालो चस्माले मृत्युको पीडा फरक देख्यो : कांग्रेस सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा २४ वर्षीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको र त्यसपछि उत्पन्न घटनाको जिम्मेवारी लिन सरकारसँग आग्रह गरेकी छिन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थापाले कुनै पनि बहानामा साम्प्रदायिकता विद्वेष फैलाउने प्रयास नेपालको संविधानको भावना, लोकतान्त्रिक मूल्य र मान्यता, नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताएकी छिन् । उनले भनिन्, ‘यस्तो घटनालाई कुनै पनि कोणबाट सामान्य रुपमा लिन सकिदैन । नागरिकको ज्यान जाने गरी गोली चाउनुपर्ने अवस्था किन आयो ? सरकारलाई प्रश्न गर्न चाहन्छु ।’

‘यसको जवाफ सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिन पर्छ । घटनाको निष्पक्ष र विश्वसनीय छानविन हुनुपर्छ,’ सांसद थापाले भनिन्, ‘जब प्रहरीको गोली लागेर ती नागरिकको मृत्यु भएको र दर्जनौंको घाइते भएको समाचार सुने त्यति बेलादेखि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको छ एउटा स्टाटस स्मरण भइरहेको छ । ‘तेरो…हरूको पो बा भाइस्, साँच्चै नै केही बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्ने थिइस् । यस्तो आतंकवाद विश्वले कहिल्यै देखेको थिएनन् । न नेता तँ के, मान्छे पनि बन्न सकेनन्, आतंकवादी होस्’ यति कुरा बुझ्नेलाई इसारा काफी छ ।’

उनले भनिन्, ‘प्रधानमन्त्रीको त्यति बेलाको भावना र आजको व्यवहारको आज पद बदलिएर मन बदलिएको व्यवहार । सन्तानको मृत्युको पीडा हरेक आमाको लागि एउटै होइन र ? कि शक्तिले पीडाको बर्गीकरण गर्छ र ? आज कप्तानगञ्जमा नेपाली युवाले ज्यान गुमाएका छन् । दर्जनौँ युवालाई गोली लागेर एउटा परिवारले छोरा गुमाएको छ । एउटी आमाले कोख रित्याएकी छिन् । एउटा बाबुले सहारा गुमाएको छ । तर, यो घटनापछि सरकार मौन हुन्छ ।’

‘हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ । हिजो सदनमा आँशु झार्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीलाई एउटा प्रश्न गर्न चाहन्छु । नेपाली युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो ? त्यो आवाज किन सुनिदैन ? कि तपाईले लगाएको कालो चस्माले मृत्युको पीडाको रंग पनि फरक फरक देखिन्छ र ?’

‘नेतृत्व केवल प्रशासन चालउने मात्रै होइन । नेतृत्व भनेको संकटका बेलामा राष्ट्रको मनोवल सम्हाल्ने दायित्व पनि हो । जब समाज डर, त्रास र अविश्वासबाट गुज्रीरहेको हुन्छ । त्यति बेला प्रधानमन्त्रीको मौता स्वयम् एउटा सन्देश बन्छ,’ कांग्रेस सांसद थापाले भनिन्, ‘त्यो सन्देशले नागरिकमा भरोसा होइन अन्यौल र असुरक्षा बढाउँछु ।’

उनले भनिन्, ‘जब राज्य आफ्नै नागरिकको मृत्युमा मौन बस्छ त्यसले न्यायप्रतिको विश्वास कमजोर बनाउँछ । राज्यप्रतिको भरोसा पनि कमजोर बनाउँछ ।’

‘सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो । त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा बिमुख हुन मिल्दैन,’ कांग्रेस सांसद थापाले भनेकी छिन् ।

Published : Thursday, 2026 July 30, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया