सुरक्षा सम्बन्धी विभिन्न घटना हेर्दा सरकार देश र नागरिकको सुरक्षाप्रति संवेदनशीलता छैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आग्रह गरेको छ ।

बुधबार कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेर सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको घटना र त्यसपछिका तनावपूर्ण परिस्थिति सबैका लागि गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।

‘विशेष गरी पछिल्लो समयमा देखिएका सुरक्षा सम्बन्धी विभिन्न घटना हेर्दा यो सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता र चुनौतिसँग पूर्णतः अनभिज्ञ रहेको प्रतित हुन्छ,’ कांग्रेसले भनेको छ ।

‘सामान्य विवादमा नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो र संवेदनशील परिस्थितिमा राज्य संयमित हुन किन सकेन ? यी प्रश्नहरूको जवाफ सरकारले दिनु पर्दछ र घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेस यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानविन गरी सत्यतथ्य सार्वजानिक गर्न तथा दोषीलाई कार्वाही गर्न पुनः माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो । धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्वप्रति चनाखो रहन आवश्यक छ ।’

‘अफ्वाह र उत्तेजनाले परिस्थिति थप जटिल बनाउन सक्छ,’ कांग्रेसले भनेको छ, ‘यस परिस्थितिमा सरकारले संवेदनशीलता गुमाए पनि समाजले संयम गुमाउनु हुँदैन । अतः अफ्वाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस, पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पु¥याउन, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन आग्रह गर्दछ । साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ र निर्देशनको उलंघन गरेमा विधान वमोजिम कारवाही हुने स्मरण गराउँदछौ ।’

Published : Wednesday, 2026 July 29, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया