गगनले कांग्रेस हाइज्याक गरेपछिको अवस्थाबारे देउवा पक्षीय नेताहरूद्वारा बुद्धिजीवीहरूसँग परामर्श

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले बुद्धिजीवी, प्रध्यापक, पत्रकार, कानून व्यवसायी लगायतसँग छलफल गरेका छन् ।

मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवा पक्षीय नेताहरूले समग्र राजनीतिका विषयमा छलफल गरेका हुन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असहमत कांग्रेसका नेताहरूको आग्रहमा छलफलमा सहभागी भएका छौँ । विचार प्रश्न र समाधान दुवैमा केन्द्रित थिए । निष्कर्ष राखेन भने खल्लो होला ।’

दाहालले भने, ‘मेरो निष्कर्ष छ । गत वर्ष भदौ २३÷२४ को लक्ष्य र गन्तव्यको अन्त्य नभएसम्म कांग्रेसमन समझदारी असम्भव । देश खरानी पार्ने खेल संसद विघटन, नयाँ प्रधानमन्त्रीमा मात्रै सीमित थिएन । राष्ट्रवादी शक्तिलाई ध्वस्त पार्नु पनि थियो ।’

‘कांग्रेस र एमालेमा विभाजनसम्म पुग्नेगरी अन्तरविरोध हुनुको कारण सामान्य छैन,’ वरिष्ठ पत्रकार दाहालले भने, ‘विशेष महाधिवेशन देउवा लखेट्न मात्रै थिएन । कांग्रेसलाई कमजोर पारेर अर्को शक्तिलाई राजमार्ग निर्माण गर्नु पनि थियो ।’

‘यो सत्यलाई विश्लेषण नगरी अहिले गाली र कुतर्कले एकतामा भाँजो हाल्ने, संयम र तर्कपूर्ण विचार दिनु उपयुक्त हुनेछ ।’

‘गत ६ गते वीपी स्मृति दिवसमा केही वक्ताद्वारा व्यक्त विचार उत्तेजक र दुरी बढाउने र घृणा फैलाउने अनुभव भएको मेरो भनाइ थियो,’ दाहालले भने, ‘आफ्नो शक्ति विस्तार नगरी दवाव हुननसक्ने, विशेष महाधिवेशन पक्षधर कुनै पनि अवस्थामा समझदारीमा पुग्ने कम सम्भावना ।’

‘हिजोका आफ्ना काम कस्ता थिए त्यसको पनि समीक्षा गरेमा असहमतहरूको दवाव दिनसक्ने शक्तिको ज्ञात हुनेछ । अरुपनि भनियो । हेरौँ कांग्रेस समझदारीमा पुग्छ कि फुट्छ धेरै दिन पर्खनु पर्ने छैन होला ।’

छलफलमा कांग्रेस नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.प्रकाशशरण महत, मीन विश्वकर्मा, उमाकान्त चौधरी, एनपी साउद, भीमसेनदास प्रधान, वीरबहादुर वलायर, नृप वड लगायतको उपस्थिति रहेको थियो ।

गगन थापाले भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सर्वसम्मत सभापति घोषणा गरेका छन् । थापाले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पनि पाएका छन् । थापाले कांग्रेसलाई मिलाएर लैजाने भन्दा पनि आफ्ना विरोधीहरूलाई ठेगान लगाउन अध्यावधि लगायतका अव्यवहारिक र अप्रासंगिक कार्यहरू गरेको भनेर आलोचना भइरहेको छ ।

शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाली कांग्रेसको विवादका विषयमा पुनरावलोकनको निवेदन दिएका छन् । यस्तो अवस्थामा देउवा पक्षीय नेताहरूले बुद्धिजीवी लगायतसँग छलफल गरेका छन् ।

नेपाली कांग्रेसमा बृहत एकताका लागि दवाव दिन देउवा पक्षीय नेताहरूले साउन २९ गते काठमाडौं राष्ट्रिय भेलाको आह्वान गरेका छन् । सो भेलाको तयारी भइरहेको छ ।

Published : Wednesday, 2026 July 29, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया