देउवा पक्षीय नेताहरूद्वारा तरुण दलको समानान्तर गतिविधि शुरु, कार्यसमिति बनाउन सात सदस्यीय कार्यदल गठन

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले नेपाल तरुण दलको भेला र केन्द्रीय कार्यसमिति बनाउन तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेतको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।

मंगलबार काठमाडौंको चुनदेवीस्थित देउवा पक्षीय नेताहरूको सम्पर्क कार्यालयमा बसेको बैठकले बस्नेतको संयोजकत्वमा सर्वसम्मत समिति गठन गरिएको तरुण नेता दिल लामाले बताए । कांग्रेस नेताहरूको बैठकबाट सर्वसम्मतले नेपाल तरुण दलको ७ सदस्यीय समिति गठन भएको लामाले बताए । बस्नेत संयोजकत्वको समितिले साउन २९ गते तरुण भेला गर्नेछ । भेलाले तरुण दलको केन्द्रीय समिति चुन्नेछ ।

समितिको सदस्यहरूमा राधा घले, लक्ष्मी खतिवडा, उत्तम चापागाई, पुष्कर पराजुली, दिल लामा र कुम्बनाथ योगी रहेका छन् ।

देउवा पक्षीय नेताहरूको बैठकले नेपाल तरुण दलको मुख्य सचिवमा कृष्णजी खड्कालाई नियुक्ति गरेको छ । खड्काले तरुण दलको भेलाको तयारी र व्यवस्थापन गर्नेछन् ।

देउवा पक्षीय नेताहरूले तरुण दलको समानान्तर गतिविधि शुरु गरेका छन् । गगन थापाले भृकुटीमण्डपबाट नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेर कानूनी मान्यता पाएपछि देउवा र कोइराला पक्षीय नेताहरूलाई अध्याबधिको बहानामा पार्टीका गतिविधिमा रोक लगाउन खोजेका छन् ।

Published : Tuesday, 2026 July 28, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया