कप्तानगञ्जमा ओमप्रकाशको मृत्यु भएपछि स्थिति तनावपूर्ण, कर्फ्यु जारी, सेना परिचालन

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् ।

दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेर घाइते भएका छन् । सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय, सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लंघन गर्दै सोमबार बिहानैदेखि प्रदर्शन भएका छन् ।

प्रदर्शनका क्रममा कप्तानगञ्ज क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भएका छन् । प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका कारण पूर्वपश्चिम महेन्द्र राजमार्गको सुनसरी खण्ड अवरुद्ध भएको छ । सुनसरी प्रहरी प्रवक्ता (डीएसपी) चन्द्र खड्काले प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेको बताए । सडकमा सवारी आवागमन रोकिएको छ ।

झडप र प्रहरी कारबाहीमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । स्थिति नियन्त्रण बाहिर जान नदिन कप्तागञ्ज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई घर बाहिर ननिस्कन र सभा–जुलुस नगर्न आग्रह गरेको छ ।

यसैबीच, स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ ।

कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो । सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । डीएसपी खड्काले अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताए ।

Published : Monday, 2026 July 27, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया