झण्डै दुईतिहाइको बालेन सरकारविरुद्ध सिंहदरबारभित्र कर्मचारीहरूको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकारविरुद्ध सिंहदरबारभित्रै कर्मचारीहरूले प्रदर्शन गरेका छन् ।

बुधबार सिंहदरबारभित्र करार र दैनिक ज्यालादारी कर्मचारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । बालेन सरकारले करार र दैनिक ज्यालादारी कर्मचारीहरू हटाउने निर्णय गरेपछि त्यसविरुद्ध कर्मचारीहरूले विरोध गरेका हुन् ।

उनीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । आन्दोलनमा उत्रिएका कर्मचारीहरूले काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएर प्रदर्शन गरेका छन् ।

बालेन सरकारको निर्णयले संघ, प्रदेश र स्थानीय तहमा गरी करीब ५७ हजार कर्मचारीलाई हटाउन लागेको छ । पहुँचका आधारमा करार र दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारीहरू बालेन सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

संघीय सरकार मातहत करीब १४ हजार, प्रदेश मातहतमा ८ हजार र स्थानीय तह मातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका अध्यक्ष काशीराज श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा यही प्रकृतिका कर्मचारीहरूको पनि गणना गर्दा सरकारको यो निर्णयले करीब २ लाखले जागिर गुमाउने अवस्था रहेको बताएका छन् ।

बालेन सरकारले साउन १ गतेदेखि करार र ज्यालादारी कर्मचारीहरूलाई हटाउने तयारी गरेको छ । उनीहरूलाई हटाएर सरकारले आउटसोर्सिङबाट कर्मचारी पूर्ति गर्ने गृहकार्य रहेको बुझिएको छ ।

अध्यक्ष श्रेष्ठले करार र ज्यालादारीमा कार्य गर्नेहरूमा कार्यालय सहयोगी, चौकीदार, प्राविधिक, इलेक्ट्रिसियन, कम्प्युटर अपरेटर, अहेब, अनमी, नर्सलगायत रहेको बताएका छन् ।

Published : Wednesday, 2026 July 15, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया