प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेद्वारा नियमावली उल्लंघन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै विपक्षी दल एमालेले रुलिङको माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ६ मा भएको व्यवस्था अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेले नियमावली उल्लंघन गरेको बताए ।

एमालेका सांसद महरले भने, ‘प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड ६ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचमा हिंड्न नहुने व्यवस्था गरेको छ । बिडम्बना माननीय खुश्बु ओली बोल्दै हुनुहुन्थ्यो । सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यू त्यो नियमको उल्लंघन गरेर हिंड्नुभएकोले म यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु र यसमा रुलिङको माग पनि गर्दछु ।’

प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठकमा पुग्दा राप्रपा सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेकी थिइन् ।

Published : Tuesday, 2026 July 14, 2:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया