प्रधानमन्त्री र गृहमन्त्रीलाई शाहीले भने– दादा र डनशैली देखाउने, रोष्टममा उभिएर रोएको अभिनय र नाटक गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवम् संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई जवाफ दिँदै मान्छेहरूको जीवनभन्दा ठूलो कसैको लोकप्रियता नहुने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद शाहीले भने, ‘हिजो सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो भन्नेहरू, आज मान्छेको जीवनभन्दा नियम ठूलो भन्दैछन् । मान्छेको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए, आज पनि हत्यारा नै हुन् ।’

‘मान्छेको हत्या केवल गोली हानेर मात्रै हुँदैन । कुनै नागरिकको बाँच्ने आधार खोसेर, उसको रोजीरोटी बन्द गरेर, उसलाई निरासा र पीडाको यस्तो अवस्थामा पु¥याउनु कि उ आत्महत्या गर्न बाध्य होस् त्यो गतिविधि पनि गोली हाने सरहको अपराध हो,’ सांसद शाहीले भने ।

उनले भने, ‘हामीले कहिल्यै सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्छ भनेका छौं ? यदि कसैसँग दम र हिम्मत छभने संसदको रोष्टममा हेरियोस् । संसदको रेकर्डमा हेरियोस् ।’

‘हामीले कहिल्यै पनि जथाभावी पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ । यस्ता भ्रमात्क एल्गोरिदम फैलाएर मान्छेको चरित्रहत्या गर्ने काम बन्द गरियोस्,’ सांसद शाहीले भने ।

‘प्रहरीको रुखो, अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिकको आत्महत्या गर्न बाध्य नहोस्, कानून सबका लागि बराबर हो,’ उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिट बेल्ट नलगाइ गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन ? न्याय सबका लागि बराबर हुनुपर्छ । विधिभन्दा अर्को चिज छैन ।’

उनले भने, ‘गणेश नेपालीका विषयमा बोल्न चाहन्छु । हामीले जलनका बिरामीलाई अपराधी जस्तै हिँडाएर किन अस्पताल लगियो ? एम्बुलेन्समा किन लगिएन भनेर प्रशन गरेका हौँ । नेपालको कुनै पनि डाक्टरलाई सोध्नुस् । जलन भएको मान्छेलाई अपराधी जसरी हिँड्यो भने ७५ प्रतिशत मान्छे शतप्रतिशत मर्ने चान्स हुन्छ ।’

‘गम्भीर जलनका बिरामीलाई बीर अस्पतालमा उपचार गराउने हो कि कीर्तिपुरको जलन अस्पतालमा उपचार गराउने हो ? सबै नेपाली लाटा छन् भनेर अल्गोरिदम नफैलाउनुस्,’ सांसद शाहीले भने, ‘कीर्तिपुरको अस्पतालमा उपचार गर्ने हो, बीर अस्पतालमा होइन ।’

‘समयमा उपचार गराइएको थियो वा थिएन ? भारतमा उपचार गराउँदा बचाउन सकिने भए, सम्भावना यदि थियो भने त्यो बिरामीलाई भारत किन लगिएन ? यदि बिरामीको मृत्यु भएको थियो भने रातारात विमानस्थलमा किन नाटक मञ्चन किन गरियो ? यो प्रश्नको जवाफ राज्यले दिनुपर्छ । यसको उत्तर हामी खोज्छौँ,’ राप्रपाका सांसद शाहीले भने ।

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङप्रति प्रश्न उठाउँदै शाहीले भने, ‘मान्छेहरूको जीवनभन्दा ठूलो तिमीहरूको लोकप्रियता होइन । किन कि मेरो कर्णालीका दाजुभाइ देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन् ।’

‘कर्णालीको नदीको भिरमा अडकिएको नागरिकको किन समयमा उद्धार गर्न नपाएर किन मर्न बाध्य भयो ? बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौँ । गृहमन्त्रीले जवाफ दिनु हुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ । बास्तविक राजनीतिककरण के हो भन्ने कुरा भने पानी बाँड्न गएको हुँ भन्ने पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लाशको सिढी चढ्दै राज्यसत्तामा गतिविधिलाई राजनीतिकरण भनिन्छ । भिरमा अडकिएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन,’ सांसद शाहीले भने ।

उनले भने, ‘संसद भवन चाहिदैन भनेर संसद भवनमा आगो लगाउने, त्यही संसदको चुनाव लड्ने कुरालाई राजनीतिकरण भनिन्छ । आफू पदमा नहुँदा नेताहरूको तलब, भत्ता हटाउनुपर्छ, अगाडि पछाडि ट्याइ ट्याई र टुईटुई गाडी, सुरक्षाकर्मी राख्नु हुँदैन, सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर र घेराबन्दी गरेर हिँड्ने कुरालाई राजनीतिकरण भनिन्छ ।’

‘आफै सरकारमा बस्ने, आफ्नै कार्यकर्ता लगाएर न्यूरोड, कार्यालय, मिडिया र प्रतिपक्ष दलका नेताहरूको घर अगाडि अबैध गाडी पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारण गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ ।’

‘फोन नउठाने, दादा र डनशैली देखाउने, संसदको रोष्टममा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । सबैको सम्पत्ति छानविन गर्छौं भन्ने तर, आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानविन गर्न हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ,’ सांसद शाहीले भने ।

‘अरुको सम्पत्ति छानविन गर्न समिति माग्ने, बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यहरूलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ,’ उनले भने ।

‘हामी सेवा गरेर राजनीतिमा आएका हौँ । देशका भौतिक संरचना आगो लगाउँदै, सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका हैनौँ,’ राप्रपाका सांसद शाहीले भने ।

Published : Tuesday, 2026 July 14, 2:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया