कांग्रेस बचाउन साउन १५ मा राष्ट्रिय सम्मेलन वा पार्टी विभाजन

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका अधिकांश नेताहरुले गगन थापाका कारण समाप्त भएको भन्दै पार्टीलाई बचाउन साउन १५ गतेभित्र राष्ट्रिय सम्मेलनको माग गरेका छन् ।

मंगलबार काठमाडौंको चुनवेदीस्थित देउवा पक्षीय नेताहरुको सम्पर्क कार्यालयमा बसेको बैठकले आवश्यक पर्दा पार्टी विभाजन गर्न समेत तयार रहन आग्रह गरेका छन् । कथित विशेष महाधिवेशनबाट गगन थापाले कांग्रेसलाई इतिहासकै कमजोर अवस्थामा लगेको नेताहरुले बताएका छन् ।

मंगलबारको बैठकले साउन ६ गते वीपी स्मृति दिवस भव्य रूपमा मनाउने निर्णय गरे पनि नेताहरूले पार्टीको भविष्य, संस्थापन पक्षसँगको वार्ता र अबको राजनीतिक रणनीतिलाई नै छलफलको केन्द्रमा राखेका छन् ।

बैठकमा बोल्ने नेताहरूको अभिव्यक्तिले देउवा पक्षीय नेताहरुको दबाबको राजनीतिमात्रै नभएर निर्णयको राजनीतितर्फ अघि बढ्न खोजिरहेको संकेत गरेको छ ।

नेता मीनबहादुर विश्वकर्माले पार्टी एकताकै पक्षमा आफूहरू रहेको बताए । उनले त्यसका लागि साझा निर्णय आवश्यक रहेको बताए ।

विश्वकर्माले भने, ‘वैकल्पिक शक्ति निर्माण गर्नुपरेमा अर्थात संगठन नै निर्माण गर्नु परेमा पनि हामी हच्किनु हुँदैन । धेरै आशंकाहरू गर्नु हुँदैन । अगाडि जानुपर्छ भन्ने कुराहरू अधिकांश वक्ता साथीहरूले राख्नुभएको छ ।’

कांग्रेस नेता डा. शशांक कोइरालाले पार्टी विभाजनको मुखमा रहेको बताए । ‘पार्टी विभाजनको मुखमा छ । हामी एकता चाहन्छौं,’ उनले भने, ‘हाम्रो प्रयास नै रहन्छ पार्टी एक होस । टुट्यो भने कमजोर भएर जान्छ ।’

अझै पनि कांग्रेस एक रहने सम्भावना रहेको नेता कोइरालाको भनाइ थियो । उनले दुवै पक्ष संवादमा बस्नुपर्ने र पार्टी एक बनाउने कि अलग बाटो रोज्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक रहेको धारणा राखे ।

‘म त पार्टी एक हुने सम्भवना देख्छु । तर, दुवै पक्ष संवादमा जानु पर्छ,’ नेता कोइरालाले भने, ‘पार्टी एक गर्ने कि नगर्ने ? छुट्टाछुट्टै हुन्छौं भने त्यहीअनुसार जानु पर्‍यो । पहिले स्पस्ट हुनु पर्‍यो ।’

संस्थापन पक्षले पार्टी एक बनाउन नचाहे आफूहरूले केही गर्न नसक्ने पनि नेता कोइरालाले बताए । ‘पार्टी एकताका लागि गगनजीको मनसाय छ कि छैन ?,’ उनले भने, ‘उहाँ एक्लै जान चाहनु हुन्छ भने हामी केही गर्न सक्दैनौं ।’

Published : Tuesday, 2026 July 7, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया