कांग्रेस एक बनाउने हो भने गगनसँगै वार्ता हुन्छ, हरुवा पदाधिकारीहरुसँग कुरा हुँदैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसको नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतले विशेष महाधिवेशनकर्ताले आफ्नै खुसीले विशेष महाधिवेशन नगरेको बताउँदै सहयोगीहरुले सजिलै नछाड्ने चेतावनी दिएका छन् ।

शेरबहादुर देउवा पक्षीय नेताहरुले काठमाडौंको चुनदेवीमा खोलेको सम्पर्क कार्यालयमा बसेको बैठकमा बस्नेतले भने, ‘विशेष महाधिवेशन आफ्नै खुसीले गरेका होइनन् । कसैको सहयोगमा गरेका हुन् । उनीहरूलाई सहयोगीले सजिलै छोड्नेवाला पनि छैनन् ।’

शेरबहादुर देउवा पक्षीय नेताहरुको अनुहार विशेष महाधिवेशन पक्षधरवालाहरूले हेर्न पनि नरुचाउने बस्नेतले बताए । ‘किन कि ह्युमलेट फिल गर्छन् । महाधिवेशन हारेकाहरू केन्द्रीय सदस्य पदाधिकारी छन्,’ उनले भने ।

नेता बस्नेतले शेरबहादुर देउवा पक्षीय नेताहरूलाई गगन थापाबाहेक अरुसँग वार्ता नगर्न पनि सुझाव दिएका छन् । ‘हामी जति लचिलो हुनुपर्ने हो भइसक्यौं,’ उनले भने ।

नेता बस्नेतले अब साउन १५ भित्र राष्ट्रिय भेला गर्नुपर्ने बताए । ‘साउन महिनाभित्र अन्तिम निर्णय गर्नपर्छ । यो मेरो प्रस्ताव हो । खुट्टा कमाउने काम नेतृत्वले गर्नु हुन्न । एकताका लागि डेट तोकेर लागौं । हुँदैन भने महाधिवेशनको डेट तोकौं,’ बस्नेतले भने ।

शीर्ष नेताहरूले अप्ठेरोमा लड्नुपर्छ भन्ने सिकाएले अब उनीहरूले यो अवस्थामा लड्नुपर्ने बस्नेतले बताए । ‘मेरो विनम्रताको साथ अनुरोध छ, साउन १५ गतेभन्दा उता जान पाउनुहुन्न । अभियान तपाईँले सुरु गर्नुभएको छ, पूरा गर्नुस् हामी पछाडि लागेका छौं,’ उनले भने, ‘माइन्ड मेकअप गरेर अघि बढ्नुपर्छ । आजै राष्ट्रिय भेलाको मिति तोकौं । साथीहरू तल कुरेर बस्नु भएको छ ।’

सम्पर्क कार्यालय सञ्चालनका के–के गर्नुपर्छ सबै आफू तयार रहेको पनि उनले बताएका छन् । नेता बस्नेतले शेरबहादुर देउवा पक्षीय नेताहरुका लागि सार्वजनिक रुपमा बोल्दै आएका छन् ।

Published : Tuesday, 2026 July 7, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया