कांग्रेसले बजेट सर्वसम्मतिबाट पारित गराएर इतिहास रच्यो, लामा समूहलाई कारबाही हुन सक्ने

काठमाडौं । बागमती प्रदेश सभाले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सर्वसम्मतिबाट पारित गरेर इतिहास बनाएको छ ।

संघीयतापछि बनेका प्रदेश सरकारहरूका बजेट बहुमतले मात्रै पारित भएका थिए । तर, सर्वसम्मतिले पास भएका थिएनन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसदमा रहेका सबै दलहरूको सहयोगमा सर्वसम्मतिले बजेट पास गराएका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकारले ल्याएको बजेटले सबैलाई समेटेका कारण सर्वसम्मतिले पारित हुँदा कांग्रेसकै सांसद एवम् पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाका टाउको दुखाइ भएको छ । लामा समूहले बजेटलाई फेल गराउन न्वारनदेखिको बल लगाएको थियो ।

लामा समूह हर्कतमा उत्रिएर कांग्रेसकै सरकारलाई अफ्ठ्यारो बनाउन खोजेपछि बिबाद मिलाउन सानेपाले महामन्त्री गुरुराज घिमिरेलाई खटाएको थियो । घिमिरे शनिबार हेटौँडा पुगेका थिए । घिमिरेले संसदीय दलको बैठक राख्न लगाएर बजेट पास गर्न निर्देशन दिएका थिए । लामा समूहले महामन्त्री घिमिरेको निर्देशनलाई समेत अटेर गरेको छ ।

बजेट सर्वसम्मतिले पास हुने सूचना पाएपछि प्रदेश सभा बैठकमा लामा र उनको समूह आएन ।

शनिबार हेटौँडामा महामन्त्री घिमिरेको उपस्थितिमा बसेको संसदीय दलको बैठकले बजेट पास गर्न ह्वीप जारी गर्ने निर्णय गरेको थियो ।

लामा समूहका तीर्थबहादुर लामा, उत्तम जोशी, छत्र भोम्जन, रामकुमार पहाडी, हरिप्रभा खड्गी, मीना पोखरेल, माया श्रेष्ठ, गीता गुरुङ, श्याम खड्का र विमल ठकुरीले महामन्त्री घिमिरेको निर्देशनलाई लत्याएर संसदको बैठकमा उपस्थिति भएनन् । उनीहरूले कांग्रेसको ह्वीप उल्लंघन गरेको भनेर कारबाहीको माग उठेको छ ।

बजेट पास गर्दा महामन्त्री घिमिरेले पूर्वमुख्यमन्त्री समेत रहेका सांसद लामालाई पटक पटक फोन गरेका थिए । लामाले महामन्त्री घिमिरेको फोन समेत उठाएनन् ।

पूर्वमुख्यमन्त्री लामा कांग्रेसको केन्द्रीय सहमहामन्त्री हुन् । जिम्मेवार पदमा बसेर लामा र उनको समूहले ह्वीप र महामन्त्री घिमिरेको निर्देशन उल्लंघन गरेर औकात देखाएका छन् ।

लामालाई चुकली लगाएर उस्काउनेहरूमा विमल ठकुरी, उत्तम जोशी र रामकुमार पहाडी प्रमुख नायिके रहेको नेताहरूले बताएका छन् । उनीहरूलाई अनुशासनको कारबाहीको माग पनि उठेको छ ।

तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामा र हालका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवाको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको थियो । सहमतिको साँक्षी नेता रमेश लेखक पनि छन् । सहमति उल्लंघन गरेपछि लामालाई हटाएर बानियाँ मुख्यमन्त्री बनेका थिए । त्यसपछि लामाले बदला लिन बजेट फेल गराउन खोजेका थिए । बिडम्बना प्रमुख प्रतिपक्षसहितका दलहरूको सहयोगमा बागमती सरकारले शनिबार सर्वसम्मतिबाट बजेटलाई पास गरिदिएपछि लामा र उनको समूह चकित परेको छ ।

एक वर्ष अगाडि लामालाई मुख्यमन्त्रीबाट हटाउन मन्त्री पदबाट राजीनामा दिएका विमल ठकुरी र श्याम खड्का अहिले आएर लामालाई साथ दिँदै बानियाँको विपक्षमा उभिएका छन् । ठकुर र खड्काका क्रियाकलाप कांग्रेस विरोधी देखिएका छन् ।

बजेट फेल गराउन असफल भएका लामाले सांसदहरूलाई मन्त्री लगायतका विभिन्न प्रलोभनहरू बाँड्दै हिँडेको आरोप छ । लामा र उनको समूह सच्चिएन भने सानेपाले उनीहरूलाई कारबाही गर्ने सम्भावना बढेको छ ।

Published : Sunday, 2026 July 5, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया