संविधान सभा सदस्यसहितका नेता, कार्यकर्ताले कांग्रेस परित्याग, बदलिएको २.० कांग्रेसलाई झट्का

धनकुटा । कथित विशेष महाधिवेशनको नामबाट गगन थापाले नेपाली कांग्रेस हाइज्याक गरेर कांग्रेसलाई तहसनहस बनाएपछि संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले कांग्रेस परित्याग गरेका छन् ।

कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनीहरूले पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् । दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मीना राईले कांग्रेस केन्द्रीय समितिलाई पत्र लेख्दै पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको बताएका छन् । उनीहरूले पछिल्ला समयका वैचारिक मतभेदका कारण पार्टी छाड्नुपरेको उल्लेख गरेका छन् ।

उनीहरूसँगै क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रवीणा तुम्बा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बाले पनि कांग्रेस परित्याग गरेको पत्रमा उल्लेख छ ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय उनीहरूको सामूहिक निर्णयले स्थानीय राजनीतिक वृत्तमा विभिन्न चर्चा शुरु भएको छ । पार्टी परित्यागबारे प्रतिक्रिया दिँदै संविधानसभा सदस्य ताम्लीले वर्तमान अवस्थामा आफू पार्टीभित्र अटाउन नसकेको बताइन् ।

समयको परिवर्तनसँगै पार्टीभित्र आफ्नो भूमिका सीमित भएको अनुभूति भएको र आफूलाई साथ दिने नेता तथा कार्यकर्ताहरूबाट समेत पार्टी छाड्न दबाब परेको उनले बताएकी छिन् ।

संविधान सभा सदस्य ताम्लीले पार्टीभित्र रहेको दास र लासको राजनीतिक संस्कृतिमा आफू बस्न नसक्ने उल्लेख गरेकी छिन् । उनले कांग्रेस नेता गगन थापाले सार्वजनिक रुपमा उठाउँदै आएको राजनीतिक संस्कृतिसम्बन्धी बहससँग पनि आफ्नो निर्णयलाई जोडेकी छिन् । पार्टी परित्याग गरेका नेताहरूले तत्काल कुन राजनीतिक दलमा आबद्ध हुने भन्नेबारे सार्वजनिक गरेका छैनन् । यद्यपि कांग्रेस छाडेका उनीहरू हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको चर्चा चल्न थालेको छ ।

लाखौँ क्रियाशील सदस्यता नवीकरण गरेका लाखौँ सदस्यहरूलाई गगन थापाले अध्यावधिको बहाना बनाएर कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी रोक्न गतिविधि गरेपछि कांग्रेसप्रति माया र शुभेच्छा राख्नेहरूले चिन्ता जनाउँदै आएका छन् । गगनका कारण हजारौँले कांग्रेस पार्टी परित्याग गरेका छन् । अझै पनि कांग्रेस परित्याग गर्ने क्रम चलिरहेको छ ।

संविधान सभासहितका नेता तथा कार्यकर्ताहरूले कांग्रेस पार्टी परित्याग गरेपछि गगनको बदलिएको २.० कांग्रेसलाई ठूलो झट्का लागेको छ । कांग्रेसलाई झट्का लागे पनि गगनलाई कुनै पश्चाताप छैन ।

Published : Sunday, 2026 July 5, 9:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया