गगन–विश्वबारे मोहन बस्नेतले भने– खराब औषधि विक्री गर्न बसेका रत्नपार्कका चटकेहरू

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै आलोचना गरेका छन् ।

शुक्रबार काठमाडौंका गल्फुटारमा शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले विवाद समाधानका लागि कुनै पहल नगरेको बताए ।

‘जो अहिले विशेष महाधिवेशनबाट सहभागी हुनु भएको छ । सबै कुरा उहाँको हातमा छ,’ बस्नेतले भने, ‘उहाँहरू चटके हो । खराब औषधि विक्री गर्न रत्नपार्कका चटकेहरूले के–के बोल्छन् नि त्यस्तै हो ।’

कांग्रेसका हाइज्याकर गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै बस्नेतले नेताहरूलाई भेट्दै नभेटी आफ्नो हिसाबले बाहिर प्रचार गर्ने काम गरिरहेको बताए ।

‘नेताहरूसँग आएर एउटा भन्नुहुन्छ बाहिर अर्को भन्नुहुन्छ,’ उनले भने, ‘त्यो भन्दा पनि अर्को कुरा उहाँहरूले भेटेकै हुन्न । भेटेर आएको भन्नुनुहुन्, छ हल्ला गर्नुहुन्छ, प्रचार गर्नुहुन्छ । लेखाइदिनुहुन्छ । यसरी नै चल्छ भन्ने ठान्नु भएको छ । यो समस्या समाधानको उपाए होइन ।’

नेता बस्नेतले लामो समयदेखि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गगन–विश्वले भेट नगरेको बताएका छन् ।

उनले छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । देउवा पक्षीय नेताहरूले राष्ट्रिय भेलाको तयारी गरिरहेको र मितिको विषयमा छलफल जारी रहेको नेता बस्नेतले बताए ।

Published : Saturday, 2026 July 4, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया