प्रहरी देख्दा केही लुट्छ कि भन्ने त्रास छ, नागरिक आतंकित छन् : हर्कराज राई
काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राईले सरकारको कार्यशैली र प्रहरी प्रशासनको पछिल्लो व्यवहारको आलोचना गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले शान्ति सुरक्षा अमनचयन गर्नुपर्ने प्रहरीकै कारण नागरिकमा त्रास बढेको बताए । उनले प्रहरीको कार्यशैलीको आलोचना गर्दै गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन् ।
सांसद राईले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका प्रहरीका केही गतिविधिप्रति लक्षित गर्दै गरेर आलोचना गरेका हुन् । विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाइएको घटनाबारे उनले आपत्ति जनाएका छन् ।
सांसद राईले भने, ‘त्यसरी मोबाइलको हत्या गर्न आदेश दिने कसको रचनात्मक निर्णय थियो ? त्यस्तो रचनात्मक निर्णय गर्ने व्यक्तिलाई नसियत दिनुपर्छ ।’
वन प्रहरीको उपस्थितिमा गरिब ट्याम्पो चालकको ट्याम्पो भीरबाट गुल्टाइएको दृश्यले आफूहरू मर्महत भएको सांसद राईले बताएका छन् । उनले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।
प्रहरीले घरको छानामा ढुङ्गा हान्दै गरेको दृश्य देखिएको भन्दै सांसद राईले आफू अचम्म परेको बताएका छन् ।
शान्ति सुरक्षाको अनुभूति गराउनुपर्ने प्रहरी नै उद्दण्ड बनेको उनले आरोप लगाएका छन् । राईले भने, ‘प्रहरी देख्नेबित्तिकै हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ । प्रहरी आयो, अब हामी सुरक्षित भयौँ भन्ने हुनुपर्नेमा अब प्रहरी आयो, यसले केही खोस्छ कि भन्ने वातावरण भइरहेको छ ।’
‘प्रहरी देख्दा नागरिकलाई सुरक्षा र शान्तिको महसुस हुन जरुरी छ,’ सांसद राईले भने, ‘नागरिक आतंकित हुनुपर्ने र डर मान्नुपर्ने वातावरण तुरुन्त सच्याइयोस् र लोकतन्त्रको ग्यारेन्टी गरियोस् ।’
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि माग गरेका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुपर्ने सभामुखको आदेश पर्खिरहेको बताए । प्रधानमन्त्री शाह आफैँले आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उनले बताएका छन् ।
सांसद राईले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) छिरेर नेपाली दाजुभाइ दिदीबहिनीलाई आतंकित बनाउने र अतिक्रमण गर्ने गतिविधिविरुद्ध आवाज उठाउने युवा पक्राउ परेको भन्दै आपत्ति जनाएका छन् ।
सांसद राईले भने, ‘त्यसको विरुद्धमा माइतीघरमा दैलेखका अजय सोडारी र हुम्लाका बर्जन बिकले लोकतन्त्रले दिएको वाक स्वतन्त्रता प्रयोग गरेर विरोध गरिरहँदा प्रहरी प्रशासनले नियन्त्रणमा लिएको छ ।’
‘अहिले हिरासतमा राखेर झुटा मुद्दा चलाउने भन्ने खालको कुरा आएको छ, त्यता गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु र ती दुई युवालाई दुःख नदिन अनुरोध गर्छु,’ सांसद राईले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया