सहमति र सहकार्य बिना कांग्रेस अगाडि बढ्न सक्दैन : डा.शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरंकुशता शुरु भएको बताएका छन् ।

आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षका नेताहरुको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै डा.कोइरालाले भने, ‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि भएको हो । अहिले देशैभरि वडाका सभापतिहरुलाई मौखिक रुपमा हटाउने काम भएको छ । के को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो । यो निरंकुशताको सुरुवात हो । कांग्रेसको जन्म त्यसको लागि भएको होइन ।’

कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै डा.कोइरालाले त्यही दिशामा आफूहरु सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बताए ।

‘कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ डा.कोइरालाले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ ।’

नेता डा.कोइरालाले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको पछि नकुद्न आग्रह गरेका छन् । उनले त्यो विषय सरोकारको विषय नभएको पनि बताए । उनले गगन थापासँग कुरा गरेपछि ५ बुँदे प्रस्ताव लेख्नु परेको बताएका छन् । प्रस्ताव पठाएको १ महिनामा पनि समाधान ननिस्किएको उनले बताए । डा.कोइरालाले कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताए ।

Published : Sunday, 2026 June 14, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया