कांग्रेस विभाजित अवस्थामा पुग्नु पीडादायी, सीमित समूहबाट पार्टी सञ्चालन गर्न कठिन : डा.शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र बढ्दो विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षका नेताहरुको भेलालाई सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउन सबै नेताहरूले पहल गर्नुपर्ने बताए । डा.कोइरालाले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको जस्तो अवस्था देखिएको बताए । उनले यसलाई अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था भएको बताए ।

उनले लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको कांग्रेस अहिले विभाजित अवस्थामा पुग्नु पीडादायी भएको भन्दै पार्टी आफै नटुक्रिएको तर, विभिन्न कारणले टुक्र्याइएको बताए । उनले सर्वोच्च अदालत र निर्वाचन आयोगका केही निर्णयले पनि पार्टीलाई आजको अवस्थामा पु¥याएको बताए ।

डा.कोइरालाले लोकतान्त्रिक मूल्य, मान्यता, परिवर्तनको एजेन्डा र पार्टीको संस्थागत विरासत जोगाउन कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताएका छन् । उनले पार्टी बलियो नभएसम्म देशको विकास र लोकतन्त्रको सुदृढीकरण सम्भव नहुने बताएका छन् ।

डा.कोइरालाले कांग्रेसमा धेरै अनुभवी र पुराना नेताहरू बाहिर रहँदा सीमित समूहका भरमा पार्टी सञ्चालन गर्न कठिन हुने बताएका छन् । सबै पक्षलाई समेटेर अघि बढ्न सके मात्रै पार्टीलाई थप मजबुत बनाउन सकिने उनले बताए ।

‘कांग्रेसको सबैभन्दा ठूलो आवश्यकता अहिले एकता हो,’ नेता डा.कोइरालाले भने, ‘विगतका तिक्तता बिर्सेर सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्छ । कांग्रेस बलियो भए मात्रै देशले सही दिशा पाउन सक्छ ।’

‘२०४८ मा गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो,’ डा.कोइरालाले भने, ‘कांग्रेस अत्यन्तै कमजोर अवस्थामा छ । के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ?’

उनले रूढिवादी सोंचबाट नभई पहिले आफूमा परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो । कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,’ डा.कोइरालाले भने, ‘अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन् तर, भोट गएन ।’

नेता डा.कोइरालाले पार्टीको उज्ज्वल भविष्य र लोकतन्त्रको संरक्षणका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको वातावरण निर्माण गर्न सम्पूर्ण नेताहरूलाई आग्रह गरेका छन् ।

Published : Sunday, 2026 June 14, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया