लुम्बिनीमा देउवा समूहको भव्य भेलाको तयारी, नेताहरुलाई जिम्मेवारी तोक्न बैठक

तुलसीपुर । गगन थापाले पार्टी एकताका लागि ध्यान नदिएर विरोधहरुलाई बाहिर निकाल्ने गतिविधि गरेपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकटका नेताहरुले लुम्बिनी प्रदेशस्तरीय भेलाको तयारी शुरु गरेका छन् ।

देउवा समूहको लुम्बिनीस्तरीय भेलाका लागि शनिबार दाङको देउखुरीस्थित लमहीमा नेताहरुको बैठक हुन लागेको छ । भेलाको तयारीका लागि लमहीमा देउवा पक्षीय नेताहरुको आन्तरिक बैठक बस्न लागेको नेता गेहेन्द्र गिरीले बताएका छन् । नेता गिरीको नेतृत्वमा लुम्बिनी प्रदेशस्तरीय भेला हुनेछ । गिरीले आन्तरिक तयारीहरु गरिरहेका छन् । आन्तरिक बैठकमा गिरीले नेताहरुलाई जिम्मेवारी दिनेछन् ।

तुलसीपुरस्थित वष्टर्न पार्टी प्यालेसमा शुक्रबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गिरीले भने, ‘हामी भोलि शनिबार देउवा निकट अगुवा नेताहरुसँग लमहीमा आन्तरिक बैठक गर्न लागेका छौं । लुम्बिनी प्रदेशस्तरीय भेला कहिले गर्ने भन्ने निधो हुनेछ ।’

निवर्तमान केन्द्रीय सदस्य गिरीले शनिबार लमहीमा हुने देउवा निकटको बैठकबाट लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति तय हुने बताए । उनले देउवा समूहले कांग्रेसको एकताका लागि दवाव दिने बताए ।

उनले हालसम्म आफूले क्रियाशील सदस्यता अद्याबधिक नगरेको बताए । नेता गिरीले समाजमा पहिचान बनाएका नेता तथा कार्यकर्ताहरुलाई अहिले नै नआत्तिन आग्रह गर्दै क्रियाशील अद्यावधि नगर्न आग्रह गरे ।

‘हामी कांग्रेस हो । त्यसमा दुई मत छैन,’ उनले भने, ‘यो हाम्रो एक किसिमको लडाइँ हो । अद्यावधिकको संख्या कम भए त्यसले गगन थापासंग नैतिक लडाइँ लड्न भविश्यमा सहज हुनेछ ।’

नेता गिरीले अध्यावधि गर्नुपर्ने भएमा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भएकाहरुको स्वतः पार्टीले अद्याबधि हुनपर्ने बताए ।

लुम्बिनी प्रदेशमा देउवा पक्षीय नेताहरुले असारको पहिलो हप्ता बृहत भेलाको तयारी गरेका छन् । भेलालाई देउवा र नेता डा.शेखर कोइराला पक्षीय शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

गगन थापाले भृकुटीमण्डप भेला गरेर कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका छन् । गगन थापालाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिता दिएको छ । आधिकारिकता पाएपछि गगन थापाले देउवा र कोइराला समूहका नेताहरुलाई पेलेर लैजान खोजेका छन् । देउवा र कोइराला समूह कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन खोजेका छन् । गगन थापा भने विरोधीहरुलाई डोजर लगाएर कांग्रेसबाट निकाल्न खोजेको आरोप छ ।

Published : Friday, 2026 June 12, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया