गगन समूहले कांग्रेसलाई इतिहासकै कमजोर बनाएपछि देउवा-कोइराला पक्षले कोशीमा संयुक्त भेला गर्ने

काठमाडौं । गगन थापाको अहँकार, निरंकुश शैली र घमण्डले नेपाली कांग्रेसका इतिहासकै कमजोर अवस्थामा पुगेका बेला शेरबहादुर देउवा र डा.शेखर कोइरालाले कोशी प्रदेशमा संयुक्त भेला गर्ने भएका छन् ।

विराटनगरमा आयोजना हुन लागेको कोशी प्रदेशस्तरीय भेलामा देउवा र कोइराला समूहले संयुक्त रुपमा भेला गर्न लागेको नेताहरुले बताएका छन् । देउवा र कोइराला समूहले जेठ ३१ गर्ने भेला गर्न लागेका छन् ।

कोशी प्रदेशस्तरीय भेलामा नेता डा.शेखर कोइराला प्रमुख अतिथि हुनेछन् । डा.कोइरालाले भेलालाई सम्बोधन गर्नेछन् ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताएका छन् ।

महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य शुरू हुन लागेको बताएका छन् । महामन्त्री राईका अनुसार विराटनगरको मनास्लु होटलमा भेला तय भएको छ ।

डा.कोइरालाको प्रमुख आतिथ्यतामा हुन गइरहेका भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा.शशांक कोइराला, डा.मीनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद, राजीव कोइराला प्रमुख वक्ता रहेका छन् ।

देउवा समूहले यसअघि बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ । लुम्बिनी प्रदेशमा पनि देउवा समूहले भेलाको तयारी गरेको छ ।

गगन समूहले कांग्रेसलाई एकलौटी रुपमा कब्जा गर्न कथित अध्यावधिका नाममा देशभरि नेता तथा कार्यकर्ताहरुमा आतंक सिर्जना गरेको छ । देउवा र कोइराला समूहले पार्टी एकताका लागि दवाव सिर्जना गर्न भेलाको आयोजना गरेको छ ।

Published : Wednesday, 2026 June 10, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया