निर्मलाका बुबा आमाले गरेको आन्दोलनलाई कांग्रेसले साथ दियो

महेन्द्रनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गरेर उनका बुबा आमासहित अधिकारकर्मीहरूले शुरु गरेको धर्नाप्रति ऐक्यवद्धता जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूल गेट अगाडि धर्नामा बसेका निर्मलाका बुबाआमासहित महिला अधिकारकर्मीहरूको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद नेता बडूले हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरे ।

उनले वर्तमान कम्युनिस्ट सरकारले दोषीलाई संरक्षण गरेको पनि आरोप लगाएका छन् ।

नेता बडूले निर्मला हत्या प्रकरणलाई कांग्रेसले गम्भीर रुपमा लिएको भन्दै सम्बन्धित निकायलाई दवाव दिइरहने बताएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा पनि सरकारले दोषीलाई पक्राउ गर्न सकेको छैन । सरकारले नै दोषीलाई संरक्षण गरेको आरोप लागेको छ ।

सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु दुःख भएको बडूले उल्लेख गरे ।

‘सरकार यस घटनामा हत्यारा पत्ता लगाउन आलटाल गर्दैछ’, कांग्रेस नेता बडूले भने, ‘यो घटनाले नेपाल प्रहरीको क्षमतामाथि जनताले आशंका गर्ने अवस्था आउनु दुःख कुरो हो ।’

अपराधी जो सुकै भएपनि कानूनी कारवाहीको भागिदार हुनुपर्ने बताउँदै उनले जनता आपराधिक कार्यविरुद्ध संगठित हुने अवस्था आएको उल्लेख गरेका छन् ।

Published : Monday, 2018 November 12, 8:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया