सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

लहान । सिरहा जिल्लास्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेर प्रदर्शन भएको छ ।

मंगलबार सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ स्थित पुरानो चोक, चोहर्वामा स्थानीयले सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका हुन् । प्रदर्शनकारीहरूले घटनामा संलग्नमाथि कानूनी कारबाही, प्रहरी दमन अन्त्य तथा न्यायको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरीका अनुसार प्रदर्शनका कारण करीब आधा घण्टा राजमार्ग अवरुद्ध भएको छ । आन्दोलनकारीसँग छलफलपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको राजीनामा मागेका छन् ।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा समेत विरोध प्रदर्शन भएको थियो ।

Published : Tuesday, 2026 July 28, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया