घूसको एक करोड ७१ लाख श्रीमतीको नाममा लुकाउने प्रदीपविरुद्ध दुइटा मुद्दा, ठेकेदार ढकाल मतियार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अधिकारीले एउटा ठेक्कापट्टा सहज गरिदिएबापत निर्माण व्यवसायीबाट १ करोड ७१ लाख रूपियाँ घूस लिएर रकम लुकाउन सम्पत्ति शुद्धीकरण गरेको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
अधिकारीले आफ्नो पद र ओहोदाको दुरुपयोग गरी प्राधिकरणबाट सञ्चालित विभिन्न ठेक्कापट्टा स्वीकृत गर्ने, रेखदेख गर्ने र भुक्तानी दिने काममा सहजीकरण गरिदिएका आयोगले अभियोगपत्रमा उल्लेख गरेको छ ।
ठेक्कापट्टा सहज बनाएबापत अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १ करोड ७१ लाख रूपियाँ घुसका रूपमा लिएको आयोगको अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ । सो कम्पनी र त्यसका सञ्चालकका तर्फबाट बैंक खातामार्फत् जग्गा बिक्रेतालाई सिधै रकम भुक्तानी गराई घूस लेनदेन गरिएको थियो ।
घूसबापत प्राप्त भएको गैरकानूनी रकमको वास्तविक स्रोत लुकाउन र त्यसलाई वैध देखाउन प्रदीप अधिकारीले आफ्नी श्रीमतीको नाममा जग्गा खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।
अधिकारीले ललितपुर महानगरपालिका वडा नम्बर ५ मा रहेको कित्ता नम्बर २२४ को १३ आना क्षेत्रफल भएको जग्गा खरिद गरेका थिए । उक्त जग्गा खरिद गर्दा मालपोत कार्यालयको राजीनामा लिखतमा जग्गाको वास्तविक मूल्य लुकाएर जम्मा ९१ लाख रूपियाँ मात्र थैली रकम कायम गरिएको थियो ।
जग्गाको वास्तविक कारोबार रकम लुकाएर बाँकी रहेको रकमलाई आफ्नो र श्रीमतीका विभिन्न बैंक खाताबाट कारोबार गरी वैध देखाउन खोजिएको बदनियतपूर्ण मनसाय अनुसन्धानबाट पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।
अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १ करोड ७१ लाख रूपियाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरिएको छ । उनी उच्च ओहोदाको राष्ट्रसेवक कर्मचारी भएकाले अधिकारीलाई थप सजायको समेत मागदाबी गरिएको छ । घुसको रकमबाट खरिद गरिएको ललितपुरस्थित १३ आना जग्गा र सम्पत्ति जफत गर्न माग गरिएको छ ।
घूस दिने गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालविरुद्ध पनि १ करोड ७१ लाख रूपियाँ नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरिएको आयोगका प्रवक्ता न्यौपानेले बताएका छन् ।
घूस लेनदेनबाट आर्जित सम्पत्ति जफत गर्नमा ढकाल समेत हिस्सेदार रहेकाले उक्त जग्गा जफत प्रयोजनका लागि ढकाललाई समेत विपक्षी बनाइएको छ ।
मुख्य कसूरदार अधिकारीलाई गैरकानूनी सम्पत्ति लुकाउन, रूपान्तरण गर्न र बैंक खाता व्यवस्थापन गरी सहयोग पुर्याएको कसूरमा ढकाललाई पनि सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत सजाय गर्न माग गरिएको छ ।
ढकाललाई मतियारका रूपमा काम गरी सम्पत्ति शुद्धीकरणमा मद्दत पुर्याएबापत थप जरिवाना र ललितपुरस्थित जग्गा जफतको मागदाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता न्यौपानेले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया