स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरूमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थाल्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन महिनामा सम्पन्न आम निर्वाचनलाई स्वीकार गरिएको भन्दै दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै लगेको बताएका छन् ।

वीपी स्मृति दिवसका अवसरमा मंगलबार प्रेस विज्ञप्ति जारी गरेर देउवाले स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेको बताए ।

देउवाले भने, ‘गत फागुनमा सम्पन्न निर्वाचन हिंसा, त्रास र असहज राजनीतिक वातावरणको पृष्ठभूमिमा सम्पन्न भए पनि जनताले, विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई हामीले सम्मान गर्‍यौं । प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउन रचनात्मक सहयोग गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता थियो ।’

‘तर दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा
लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन्,’ देउवाले भने, ‘न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिदै छ ।’

देउवाले भने, ‘यस्तो परिस्थितिमा नेपाली कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आम जनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ ।’

Published : Tuesday, 2026 July 21, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया