प्रधानमन्त्री र गर्भनरबीच भेटवार्ता, मौद्रिक नीति खुकुलो बनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् ।

प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिएका छन् ।

प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंक दुबैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने बताएका छन् । उनले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्ने बताए ।

मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन शाहले सुझाव दिएका छन् । उनले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याएका छन् ।

मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्री शाहले आग्रह गरेका छन् ।

नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्ने शाहले बताएका छन् ।

प्रधानमन्त्री शाहसँगको भेट र छलफलमा गभर्नर पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको बताए । राष्ट्र बैंकले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने पौडेलले बताए ।

सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता जनाएका छन् ।

Published : Thursday, 2026 July 16, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया