शानका साथ खुल्यो देउवा पक्षीय कांग्रेस नेताहरूको कार्यालय, वीपीका पुत्रले दिए साथ

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सोमबार विशेष कार्यक्रम गरेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनका क्रममा नेताहरू डा.शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो । कार्यालय खोल्ने क्रममा वीपी कोइरालाका पुत्र डा.शशांक कोइरालाले साथ दिएर नेपाली कांग्रेसप्रतिको माया ममता देखाएका छन् ।

कार्यालय खोल्नुभन्दा अगाडि देउवा पक्षीय नेताहरूको बैठक बसेको थियो । बैठकमा निवर्तमान कार्यबाहक सभापति खड्काले समग्र विषयमा ब्रिफिङ गरेका थिए ।

खड्काले भने, ‘हामी अहिले डा.शेखर कोइरालासहित १११ जना छौँ । १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजनको प्रस्ताव गरेका हौँ ।’

‘सातबुँदेको जवाफ भेटेकै दिन उपसभापति विश्वप्रकाश शर्मालाई दिएको हुँ,’ खड्काले भने, ‘लिखित दिनुस् भन्नुभएको थियो । मैले जसरी हामीलाई व्हाटस्एपमा पठाउनु भयो, त्यसै गरी टाइप गर्नुस भनेँ । टाइप गर्नु भो ।’

‘टाइप गरेर सुनाउनु भो । यही हो दाइ फाइनल भन्नु भयो । मैले हो भनेँ । अनि उहाँले गगनजीलाई सबै कुरा सुनाउँछु,’ खड्काले भने, ‘तपाईं पनि नेताहरूलाई सुनाउनुस्, गगनजीसँग आफैं गएर छलफल गर्नुस् भन्छु भन्नू भो ।’

उनले विश्वप्रकाश शर्माले आफू र डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको बताएको पनि बैठकमा जानकारी गराएका छन् । गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूलाई वरिष्ठ नेता बनाएर अन्य नेता तथा कार्यकर्तालाई बचल्ली बनाउन आफूले नचाहेको बताएका छन् । आफूले त्यो प्रस्तावलाई अस्वीकार गरेको खड्काले बताए ।

विश्वप्रकाश शर्मासँग भेटेपछि भोलिपल्ट केही आउला भनेर आफूले कुरेको तर, केही खबर नआएको निवर्तमान कार्यबाहक सभापति खड्काले नेताहरूलाई बैठकमा जानकारी गराएका छन् ।

खड्काले भने, ‘भोलि बिहान ९ बजेसम्म कुरे । कुनै खबर आएन । केही बेरपछि महामन्त्री प्रदीप पौडेललाई कोट गरेर समाचार आयो– शीर्ष नेताको सदस्यता स्वतः अधावधिक भनेर । मलाई देशभरबाट फोन आयो, आफ्नो अधावधिक हुने, हाम्रो नहुने भनेर । मैले समचारको खण्डन गरेँ सामाजिक सञ्जालबाट । अनि फोन आउन बन्द भयो ।’

खड्काले अब भोलिदेखि २/३ दिन नियमित छलफल गर्ने पनि बताएका छन् । शेरबहादुर देउवा पक्षीय नेताहरूले साउन ६ वीपी जयन्ती विशेष कार्यक्रम गर्ने तयारी गरेका छन् । त्यसका लागि नेताहरूले गृहकार्य शुरु गरेका छन् । वीपी कोइरालाका छोरा डा.शशांक कोइराला देउवा पक्षीय नेताहरूसँगै छन् । कोइराला परिवारका सदस्यहरू पनि गगन थापाले हाइज्याक गरेको कांग्रेसमा गएका छैनन् ।

Published : Monday, 2026 July 6, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया