देउवा पक्षीय नेताहरुको लुम्बिनी प्रदेशस्तरीय भेला, कांग्रेसमा बृहत एकताका लागि दबाब

लमही । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेता तथा अगुवा कार्यकर्ताहरुको लुम्बिनी प्रदेशस्तरीय भेलाले पार्टीभित्रको बृहत एकताका लागि नेतृत्वले गम्भीर पहल गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

मंगलबार लमहीमा देउवा पक्षीय भेलाका सहभागी नेता तथा अगुवा कार्यकर्ताहरुले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नविकरण भइसकेको अवस्थामा अध्यावधि आश्यक नरहेको बताए । नेताहरुले क्रियाशील सदस्यता अध्यावधि नगरेकै कारण कांग्रेसबाट कसैले निकाल्छ भने निकालोस तर, कांग्रेसमा कसैको दास बन्न नसक्ने बताएका हुन् । उनीहरुले विधान विपरीतका कार्य नगर्न विशेष महाधिवेशन पाक्षधरहरुलाई सचेत गराएका छन् ।

धारणा राख्ने अगुवा नेता तथा कार्यकर्ताहरुले कांग्रेसको बृहत एकताका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई व्यवस्थापन गर्नुपर्ने, क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधिको व्यवस्था गर्न नहुने, कांग्रेसमा बृहत एकताका लागि केन्द्रीय नेताहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर लचक हुन आग्रह गरेका छन् ।

नेता गेहेन्द्र गिरीको संयोजनमा भएको भेलामा नेताहरु किशोरसिंह राठौर, पूर्वमुख्यमन्त्री एवम् संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, रेवतीप्रसाद भुसाल, गुरु बराल, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा, कांग्रेसकी प्रमुख सचेतक जमुना ढकाल, सचेतक धनलक्ष्मी श्रेष्ठ, प्रदेश सांसदहरु माया पुन, लोका बि.क., सञ्जु चौधरी, सुशीला बादी, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

झण्डै एक हजार नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको भेलाले केन्द्रीय नेताहरुलाई जिम्मेवार हुन सचेत गराएका छन् । देउवा पक्षीय नेताहरुले सात प्रदेशमध्ये लुम्बिनी प्रदेशस्तरीय भेला सबैभन्दा अन्तिममा गरेका हुन् । देउवा पक्षीय नेताहरुले अब राष्ट्रिय भेला गर्नेछन् ।

कांग्रेसको बृहत एकताका लागि अहिलेसम्म लचकता देखाएको देउवा पक्षीय नेता तथा कार्यकर्ताहरुले आवश्यक परेमा गम्भीर कदम पनि उठाउन सक्नेछ । कथित विशेष महाधिवेशन पक्षधरहरुले अध्यावधिका नाममा आफ्ना विरोधीहरुलाई ठेगान लगाउने र बाँकीलाई अनुशासनको कारबाही गरेर भए पनि कांग्रेसलाई ध्वस्त पार्ने गतिविधि गरिरहेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले आशंका गरेका छन् ।

Published : Tuesday, 2026 June 30, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया