सानेपाबाट गगनको आतंक, कांग्रेसलाई झन् कमजोर बनाउन मेयरसँग मागे स्पष्टीकरण
काठमाडौं । भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरी कानूनी मान्यता पाएका गगनकुमार थापाले आफ्ना विरोधीहरुलाई ठेगान लगाउन अनुशासनको आतंक मच्चाएका छन् ।
गगनले आफ्ना विरोधीहरुलाई अनुशासनको नाममा कारबाही गरेर डर र त्रास देखाइरहेका छन् । बारा र रामेछापका जिल्ला सभापतिहरुलाई अनुशासनको कारबाही गरेर सभापति पदको जिम्मेवारी खोसेको काण्ड सेलाउन नपाउँदै गगनले सर्लाहीको ईश्वर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यलाई अनुशासनको कारबाही गर्न लागेका छन् ।
गगनले केन्द्रीय अनुशासन समितिको नाममा सर्लाहीको ईश्वरपुर नगरपालिकाका प्रमुख एवं महाधिवेशन प्रतिनिधि मनोजकुमार आचार्यलाई स्पष्टीकरण सोध्न लगाएका छन् । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनावमा हराउन भूमिका खेलेको आरोपमा आचार्यलाई ५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरबाट जारी पत्रअनुसार, गत २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा आचार्यले पार्टी विरोधी गतिविधि गरेको उल्लेख छ । प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ का उम्मेदवार शम्भुलाल श्रेष्ठले आचार्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् ।
उजुरीमा मेयर आचार्य चुनावी सभा, सम्मेलन तथा पार्टीका आधिकारिक बैठकहरूमा सहभागी नभएको र उल्टै आफ्नै पार्टीका उम्मेदवारलाई पराजय गराउने खेल र गतिविधिमा सक्रिय रूपमा संलग्न रहेको आरोप लगाइएको छ ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा १ (क), (ख), (ग) र (घ) बमोजिमको अनुशासन उल्लंघनको कसुरमा तपाईंलाई सजाय किन नगर्नेहरु यदि उक्त कारबाही गर्न नपर्ने कुनै मनासिब आधार र कारण भएमा विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम ५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयअनुसार यो पत्राचार गरिएको छ ।’
तोकिएको ५ दिनभित्र उचित र मनासिब कारणसहित स्पष्टीकरण पेश नगरेमा पार्टीको विधानबमोजिम अनुशासन उल्लंघनको कसूरमा कारबाही प्रक्रिया अघि बढाइने व्यहोरा समेत पत्रमा उल्लेख गरिएको छ । विजय गच्छेदार नेतृत्वको पार्टी हुँदै आचार्य स्थानीय चुनावअघि कांग्रेस प्रवेश गरेका थिए ।
गगनका कारण कांग्रेस निकै कमजोर अवस्थामा छ । यो कुरा गगनलाई पनि थाहा हुन सक्छ । कांग्रेस इतिहासकै लज्जाजनक अवस्थामा पराजित भएको छ । गगन आफै पनि सर्लाही ४ बाट लज्जाजनक अवस्थामा पराजित भएका छन् । आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा प्रतिस्पर्धा गरेका गगनलाई रास्वपाका अमरेशकुमार सिंहले १२ हजारभन्दा धेरै मतले हराइदिएका थिए ।
कांग्रेसको असन्तुष्ट समूहलाई मिलाएर लैजानुपर्ने दायित्व र जिम्मेवारी गगनको हो । शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहले कांग्रेसमा बृहत एकताको खोजी गरिरहेका छन् । गगन भने देउवा र कोइराला पक्षीय नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसमा राख्न चाहँदैनन् ।
१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा गगनले अध्यावधिका नाममा बबण्डर मच्चाइरहेका छन् । अध्यावधि नगर्नेलाई कांग्रेसले नचिन्ने भन्दै गगनले अघोषित रुपमा लाखौँ क्रियाशील सदस्यहरुलाई कांग्रेसबाट निकालेको झापाको कार्यक्रममा बताइसकेका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया