समयमा काम नगर्ने ठेकेदारहरुको खुट्टा भाँचिदिन मन्त्री लम्सालको निर्देशन, कतै विरोध, कतै प्रशंसा

काठमाडौं । झण्डै दुईतिहाइको सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काम नगरे निर्माण व्यवसायी (ठेकेदार)हरुको खुट्टा भाँचिदिन निर्देशन दिएका छन् ।

निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले ‘काम नगरे खुट्टा भाँचिदिने’ चेतावनी दिएका हुन् । उनले भने, ‘यो बिजुलीको पोलको कन्ट्र्याक्ट पेपर र कन्ट्र्याक्टर कहाँ छ, खोजेर ल्याउनुस् । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन । यहाँको पब्लिकले धेरै दुःख पाए ।’

मन्त्री लम्सालले काममा लापरबाही वा अनावश्यक ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन् । उनले काममा लापरबाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या तथा अवरोध तत्काल समाधान गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताएका छन् ।

मध्यपूर्व द्वन्द्वपछि निर्माण सामग्री अभावका कारण प्रभावित बनेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाको कामले पछिल्लो समय पुनः गति लिएको छ । अहिले उक्त सडकखण्डमा कालोपत्रको काम अगाडि बढेको छ ।

मन्त्री लम्सालको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना रव समर्थन दुबै भइरहेको छ । निर्माण व्यवसायीहरुले सरकारी ठेक्का लिएर समयमा काम नगर्ने, ढिलासुस्ती गर्ने लगायतका कार्य गर्ने गरेपछि सर्वसाधारण आजित छन् ।

Published : Monday, 2026 June 15, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया