लुम्बिनीमा देउवा-कोइराला पक्षीय नेताहरुले असार ६ गते भेला गर्ने, गगनका कारण कमजोर कांग्रेसलाई बलियो बनाउने

लमही । लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रै बृहत एकाताका लागि संघर्ष गर्ने र विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई सहमतिका लागि दवाव सिर्जना गर्ने निर्णय गरेको छ ।

शनिबार दाङको लमहीमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुको बैठकले पार्टीको बृहत एकताका लागि लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेपाली कांग्रेस, रोल्पा क्षेत्र नं. १ का क्षेत्रीय सभपाति दुर्गा खड्काले जानकारी दिए । खड्काले भने, ‘नेपाली कांग्रेसको बृहत एकताका लागि असार ६ गते शनिबार भेला गर्ने निर्णय भएको छ । आन्तरिक तयारी गर्नेछौँ । स्थानका बारेमा केही दिनभित्रै सार्वजनिक गर्ने निर्णय भएको छ ।’

नेता गेहेन्द्र गिरीको संयोजनमा बसेको बैठकमा पार्टी एकताका लागि भेला गर्न लागिएको बताए । उनले विशेष महाधिवेशनबाट आएको नेतृत्व गम्भीर बनेर बृहत एकताका लागि पहल गर्नुपर्ने र त्यसका लागि आफूहरुले दवाव सिर्जना गर्ने बताए ।

१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको भन्दै नेता गिरीले अध्यावधिको कुनै अर्थ नरहेको बताए । उनले अध्यावधि नगर्न सबैलाई अपील गरेका छन् ।

बैठकमा नेताहरु चन्द्र केसी, किशोरसिंह राठौर, रेवती भुसालका साथै लुम्बिनी प्रदेशका १२ जिल्लाका करीव १५० जना जिल्ला कार्यसमितिका पदाधिकारी एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट गगन थापा समूहले नेपाली कांग्रेसलाई हाइज्याक गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएपछि शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षका नेताहरुलाई डोजर लगाउने प्रयास भएपछि दबाबमूलक कार्यक्रमहरु भइरहेका छन् ।

Published : Saturday, 2026 June 13, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया