अध्यावधि गर्न आवश्यक छैन, विशेषवालाहरुको निर्णय ठीक छैन, कांग्रेस कमजोर हुन्छ : नेता गिरी

तुलसीपुर । नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीले विधान विपरीतको क्रियाशील सदस्यता अध्यावधि नगर्न आग्रह गरेका छन् ।

शुक्रबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता गिरीले नियमित १५औँ महाधिवेशनका लागि नवीकरण भइसकेको क्रियाशील सदस्यता अध्यावधि गर्न आवश्यक नरहेको बताए । उनले अध्यावधि गर्ने नै हो भने क्रियाशील सदस्यहरु आफू उपस्थित हुनुपर्ने बताए ।

नेता गिरीले भने, ‘विशेष महाधिवेशन गरेपछि ६ महिनाभित्र नियमित महाधिवेशन गर्नुपर्छ भन्ने विधानमा उल्लेखित छ । विशेष महाधिवेशन साथीहरुले बल मिच्याइ गरेर भएको कुरा हो यसमा हाम्रो सहमति छैन ।’

‘विशेष महाधिवेशनबाट आएका साथीहरुमा अह छ त्यो चाहिँ राम्रो होइन । त्यसले पार्टी एकता गर्दैन । नियमित महाधिवेशनमा छुटेका साथीहरु ती साथीहरुलाई नवीकरण गर्न गर्न समय दिनुपर्छ,’ उनले भने, ‘अध्यावधि गर्नतिर लाग्यौँ भने धेरै साथीहरु छुट्छन् ।’

नेता गिरीले भने, ‘विशेष महाधिवेशन पक्षधर साथीहरुले बनाएको नियमअनुसार भौतिक रुपमा उपस्थित हुनुपर्छ अध्यावधि गर्नको लागि । जसले नवीकरण गरेको छ त्यो मान्छे रोजगारीका लागि विदेशमा गएको छभने त्यसको कसरी अध्यावधि हुन्छ ? क्रियाशील सदस्यता अध्यवाधि गर्नका लागि विदेश गएको व्यक्ति आउँदैन ।’

‘त्यो नआउँदा करीव ९ लाख क्रियाशील सदस्य (नयाँ र पुरानो) घट्छ । त्यो साथी महाधिवेशनमा आयो भने के गर्ने ? अध्यावधि नभएको कारण नाम काटिएर जान्छ । उसले नवीकरण गरेको पैसा माग्छ,’ नेता गिरीले भने, ‘त्यसले पार्टीलाई हित गर्दैन । अध्यावधि गरेन भने त्यो कांग्रेस रहँदैन । निर्वाचनमा त्यो मान्छेलाई के मुखले प्रचारमा लाग्न भन्न सक्छौँ ? अध्यावधिले कांग्रेसको संगठनलाई असर पर्छ ।’

Published : Friday, 2026 June 12, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया