गुल्मीमा निःशुल्क स्वास्थ्य शिविर, १२ सय धेरैले पाए उपचार

बलेटक्सार । गुल्मीको छत्रकोट गाउँपाालिका श्रींगा पिपलनेटा श्रींगामा सम्पन्न भएको दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढीले सेवा पाएका छन् ।

छत्रकोट गाउँपालिका, ग्रिनसिटी अस्पताल, रोटरी क्लब अफ काठमाडौं डाउनटाउनको आयोजनामा भएको स्वास्थ्य शिविरमा पाठेघर, मिर्गौला, हाडजोर्नी, नाक, कान, घाँटी, आँखा, दाँत, ग्याष्ट्रो, छाती, छाला, सुगर, प्रेसर लगायतका रोग उपचारका लागि वरिष्ठ चिकित्सकहरू डा.रोमियो कंशाकार, डा.प्रकाश पौडेल, डा.रुपा झा, डा.सुन्दर ढुंगाना, डा.सचिन्द्र जोशी, डा.अनुपा कार्की, डा.ओएसिइस निरौला, डा.देवराज कँडेल, अभिमन्यू रौनियार एवं सिनियर नर्ससहित अस्पतालका अन्य स्टाफहरूले विशेष भूमिका निर्वाह गरेका थिए ।

अस्पतालका अध्यक्ष एवं रोटरी क्लब अफ काठमाडौं डाउनटाउका अध्यक्ष लोकबहादुर टण्डनको नेतृत्वमा भएको स्वास्थ्य शिविरमा माइनर र जेनरल अप्रेशन समेत गर्ने गरि औषधिसहित आवश्यक इक्युमेण्टको पनि व्यवस्था गरिएकोले स्थानीयले ठूलो राहत महशुस गरेका छन् ।

शिविरमा आएका एक दर्जन बढीको मेजर अप्रेशन गर्नुपर्ने रोग देखिएकोले उनीहरूलाई गाउँपालिकाको सिफरिस लिएर काठमाडौं जान चिकित्सकहरूले सिफारिस गरेका छन् ।

चिकित्सकले स्वास्थ्य शिविरमा रिफर गरेका बिरामीहरूलाई काठमाडौंसम्म जाने खर्च गाउँपालिकिाले ब्यहोर्ने र काठमाडौंमा अप्रेशनदेखि सम्पूर्ण उपचार खर्च ग्रिनसिटी अस्पतालले नै ब्योहोर्ने गरि सहमति भएको र सोही अनुसारको जानकारी बिरामीलाई पनि गराइएकोले उनीहरूले आवश्यक प्रक्रिया पनि थालेका छन् ।

छत्रकोट गाउँपालिका, रुरु गाउँपालिका सत्यवती गाउँपालिका, गुल्मी दरबार, रेसुंगा गाउँपालिकाका स्थानीय नागरिकहरू बिहान ४ बजे उठेर उपचार गर्न श्रींगा पिपलनेटामा आएका थिए । उपचार गर्न आउने १२ सयमध्ये ७५ प्रतिशत महिला नै थिए ।

गाउँमा पुरुषको संख्या कम, त्यसमा पनि युवा शून्य जस्तै भएकोले पनि बृद्धबृद्धा उपचार गर्न आएका थिए । हात गोडा ढाड दुख्ने, ज्यान दुख्ने, सुगर, प्रेसर, पाठेघरको समस्या, सेतोपानी बग्ने, हात खुटा सुनिने, ग्याष्टिक आदिको समस्याबाट ग्रस्त बिरामीहरूको संख्या निकै थियो ।

हेल्थ पोष्टले काठमाडौं, बुटवल जान रिफर गरेका बिरामीहरू वर्षौदेखि आर्थिक अभावका कारण जिल्ला छोडन नसकेकाहरूले काठमाडौंका प्रतिष्ठित चिकित्सकहरू समक्ष उपचार गराएर निःशुल्क औषधि पाउँदा घरमै भगवान आएको जस्तो भन्दै खुशी व्यक्त गरेका छन् ।

७५ वर्षीया धनमाया कार्की, ५२ वर्षीय राम बिक, सीता बिक, मीना बिक, सरिता बिक, डिला कँडेल, गोमा कँडेल, सीता टण्डन, मैना टण्डन लगायतका बिरामीले स्वास्थ्य शिविरका नाममा गाउँमा आउने फोटो खिच्ने, उपचार गर्नेभन्दा बढी भाषण र प्रचार गर्ने प्रबृत्ति बिगतमा देखिने गरेको देखिन्थ्यो । यस पटक चिकित्सकहरू नै त्यसको बिपक्षमा देखिएकोले पनि धेरैले उपचार पाउन सफल भएको आफूहरूले अनुभूति गरेको भन्दै चिकित्सक र अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।

छत्रकोट गाउँपालिका अध्यक्ष एवं युवा नेता रामप्रसाद पाण्डेले दुई दिने निःशुल्क स्वास्थ्य शिविर केवल शिविरका लागि मात्र निकै उपलब्धिमुलक भएको बताएका छन् । काठमाडौंबाट वरिष्ठ चिकित्सकहरू, नर्सहरू, मनीष दवाडीसहित अन्य जिम्मेवार स्टाफहरू समेतको सक्रिय सहभागितालाई गुल्मी जिल्लावासीले आफूलाई सम्मान गरेको रुपमा लिएको अध्यक्ष पाण्डेले उल्लेख गरेका छन् ।

७५ वर्षको उमेरसम्म पनि काठमाडौं जान नपाए पनि काठमाडौंबाट आएका वरिष्ठ चिकित्सकहरूबाट उपचार गराउन पाउँदा खुशीले गद्गद् भएकी सरिता विश्वकर्मा भन्छिन्’, निकै ठूला डाक्टर हुन् रे ! जे समस्या भएपनि ठीक हुन्छ भनेर औषधि दिनुभएकोछ यसले गर्दा धेरै दुःख नपाई मर्न सकिन्छ भन्ने आशा पलाएको छ ।’

चार छाराछोरीकी ३० वर्षीया मीना बिक भन्छिन्, ‘दुई जुम्ल्याहा छोरी, दुई जुम्ल्याहा छोरी र छोरा गरी चार जना छौं । श्रीमान् विदेश काममा जानुभएको छ, छोरोछोरीलाई पढाउन र छोराछोरी बिरामी हुँदा उपचार गर्न बल्लतल्ल श्रीमानले पठाएको खर्चबाट चल्छ । अन्य खर्च गर्ने कुरा त सोँच्न पनि सकिन्न त्यसैले पनि सात वर्षदेखि पेटमा पत्थर छ काठमाडौंमा गएर अप्रेशन गर्नुपर्छ भनी हेल्थपोष्टका डाक्टरले भन्नुभएको थियो । त्यो कुरा श्रीमानलाई कति थप पीडा दिनुभनेर भन्न पनि सकेकी छैन ।’

मीनाले भनिन्, ‘आज स्वास्थ्य शिविरमा डाक्टरलाई देखाएपछि निःशुल्क उपचार गरिदिउँला काठमाडौं आउनु भन्नुभएपछि बल्ल खुशी हुँदै श्रीमानलाई फोन गरे उहाँले पनि किन अहिलेसम्म नभनेको भनी प्रश्न गर्दै नानीबाबुलाई त्यहाँ व्यवस्था गरेर तुरुन्तै उपचार गर्न जानु भन्नु भएको छ । सात वर्षदेखि दुखाई सहेर पालेको रोग हटाउन जाने भएपछि नयाँ जीवन पाउने भएँ भन्ने भएको छ ।’

औषधिसहित निःशुल्क उपचार पाउने १२ सयमध्ये सात जनाको माइनर अप्रेशन सोही ठाउँमा डा.रोमियो कंशाकारले गरेका छन् ।

स्वास्थ्य शिविरमा लायन्स क्लब गुल्मीले पनि केही सहयोग गरेको थियो । सामान्य सहयोग गरेको नाममा स्वास्थ्य शिविरमा अनुहार नै नदेखिए पनि सम्मान थाप्न र आशन ग्रहणका लागि शिविरमा पुगेको कुरा चर्चाको विषय भएको थियो ।

मान्छे देखै नपर्ने समापनमा सम्मान र आशनका लागि आउने कस्तो प्रबृत्ति हो भनी एक जना लायन्सकै जिम्मेवार र सक्रिय समाजसेवी व्याक्तित्वको जवाफ थियो । लगानी गरेका हुन्छन त्यसैले गर्नै पर्‍यो नि ।

Published : Thursday, 2023 March 16, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया