रामहरि खतिवडाद्वारा राहदानीभित्रको फोहरी षड्यन्त्रको भण्डाफोर, भीआईपी र सर्वसाधारणलाई विभेद

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले जनताका छोराछोरीहरूले राहदानी लिँदा निकै दुःख र सास्ती व्यहोर्नु परेको भन्दै राहदानी लिने व्यवस्था सहज बनाउन माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै खतिवडाले राहदानी लिन एक लाखसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको बताए । उनले जनताले लिने राहदानीका लागि २० हजारसम्म राजश्व लिने भए पनि सुविधाको रातो पासपोर्ट र निलो पासपोर्ट लिनेलाई राजश्व तिर्न नपर्ने विभेदकारी नीति रहेको बताए ।

उनले भने, ‘नेपाली जनताका छोराछोरीहरूले पासपोर्ट लिनका लागि एक महिना पर्खनुपर्ने बाध्यता सिर्जना भएको छ । सरकार बन्नेवित्तिकै प्रधानमन्त्री र केही मन्त्रीहरू कुद्दै पासपोर्ट विभागमा पुगेको समाचार हामीले सुन्न पायौं ।’

‘आज पनि लाईन त्यत्तिकै बसेको देखेका छौँ । हुम्ला, जुम्ला, कालीकोट, तेह्रथुम, ओखलढुंगा, सोलुको पासपोर्ट लिनका लागि लाख रुपियाँभन्दा बढि खर्च गर्नुपर्ने बाध्यता सिर्जना भएको छ’, खतिवडाले भने, ‘७७ जिल्ला, १७ वटा इलाका प्रशासन कार्यालय, ३८ वटा एम्बेसी र महावाणिज्य दूतावासबाट पासपोर्ट जारी हुने व्यवस्था गरिएको छ ।’

उनले भने, ‘यो वर्ष झण्डै दश लाख ३५ हजार ई–पासपोर्ट छापिएको सूचना आएको छ । दुई प्रकारका पासपोर्ट हामीले जारी गरेका छौँ । एउटा ३४ पेजको पासपोर्ट त्यसका लागि जिल्लाबाट लिँदा ५ हजार, विभागबाट लिँदा १२ हजार रुपियाँ तिर्नुपर्छ । ६६ पेजको पासपोर्ट लिनको लागि जिल्लाबाट १० हजार विभागबाट लिनुपर्छ २० हजार तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।’

‘ई–पासपोर्ट छपाइ गर्नका लागि ३४ पेजको पासपोर्ट छपाइ गर्दा १० डलर ४५ सेन्ट लाग्छ । त्यो भनेको नेपाली रुपियाँ १ हजार ३ सय ६८ रुपियाँ ९५ पैसा हो । ६६ पेजको ई–पासपोर्ट छाप्नको लािग १० डलर ९५ सेन्ट लाग्छ । त्यो भनेको नेपाली रुपियाँ आजको मूल्यमा १ हजार ४ सय ३४ रुपियाँ ४५ पैसा हो’, कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।

उनले भने, ‘१४ सयमा निर्माण (बनेको) भएको पासपोर्ट एउटा गरिव किसान, विद्यार्थीका लागि हामीले दिँदा २० हजारसम्म लिने पद्धतिको विकास भएको छ । राज्यले नै यति धेरै लिने परम्परा कहिले अन्त्य हुने ?’

‘अघिल्लो वर्ष पासपोर्टबाट नेपाल सरकारले ३ अर्ब ७१ करोड ७६ लाख ३८ हजार ४ सय ७१ रुपियाँ आम्दानी गरेको देखिन्छ’, उनले भनेका छन् ।

‘यो वर्ष दुई अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको देखिन्छ मंसिरसम्म । मंसिर पछाडि प्रतिदिन झण्डै १ करोड ४० लाख रुपियाँ आम्दानी हुने देखिएको छ’, खतिवडाले भने, ‘यो अवस्था हेर्दा महिनामा ४२ करोड रुपियाँ र वर्षमा ५ अर्ब ४ करोड रुपियाँ पासपोर्टबाट आम्दानी हुने देखिन्छ ।’

उनले भने, ‘एउटा गरिवले पासपोर्ट बनाउनको लागि एक महिनासम्म कुर्नुपर्ने अवस्था अहिलेसम्म अन्त्य भएको छैन । सरकार बारम्बार परिवर्तन हुने तर, जनताको जीवनस्तर परिवर्तन नहुने, सरकारमा पुग्ने बेला सधैँ मीठा कुरा गर्ने तर, कार्यान्वयन नगर्ने पद्धतिको अन्त्यका लागि रुलिङ गर्नुपर्‍यो । जनताले छिटोभन्दा छिटो पासपोर्ट लिने व्यवस्था हुनुपर्‍यो ।’

‘पासपोर्ट वितरण गर्दा देशका प्रतिष्ठित व्यक्तिले रातो पासपोर्ट पाउने गरिएको छ । यो वर्ष डाटा हेर्दा जम्मा ३१० जनाले रातो पासपोर्ट लिएको पाइयो’, खतिवडाले भनेका छन् ।

उनले भने, ‘म रातो पासपोर्ट लिनका लागि योग्य व्यक्ति भनेर सरकारले निर्धारण गरेको व्यक्ति हुँ । रातो पासपोर्ट लिन जाँदा जसरी एउटा गरिव किसानाले तिरेको छ, विद्यार्थीले तिरेको छ त्यो व्यवस्था सरकारसँग छैन ।’

‘राष्ट्रपतिले पासपोर्ट लिँदा पैसा तिर्नुनपर्ने, प्रधानमन्त्रीले पासपोर्ट लिँदा पैसा तिर्न नपर्ने, मन्त्रीले पासपोर्ट लिँदा पैसा तिर्न नपर्ने, सभामुखले पासपोर्ट लिँदा पैसा तिर्न नपर्ने ! तर, एउटा गरिवले पासपोर्ट लिनपर्दा २० हजार तिर्नुपर्ने, एक लाख रुपियाँसम्म खर्च गर्नुपर्ने पद्धति कहिले अन्त्य गर्ने ? परिवतर्नका कुरा गर्छौ तर, हामी आफैबाट परिवर्तन भएका छैनौँ’, खतिवडाले भनेका छन् ।

‘रातो पासपोर्ट प्रयोग गर्नेले पैसा तिर्ने व्यवस्था होस् । म आफै रातो पासपोर्ट लिँदा पैसा तिर्न चाहन्छु त्यो व्यवस्था सरकारले गरेको छै कि छैन ? रातो पासपोर्ट र निलो पासपोर्ट सरकारी कर्मचारीलाई दिने गरिएको छ’, उनले भने, ‘रातो पासपोर्ट ३१० वटा जारी भएको छ । झण्डै १२ सय जारी भएको देखिएको छ । निलो पासपोर्ट दिँदा पनि पैसा लिने चलन छैन । सरकारी कर्मचारीको आम्दानी हुन्छ । कर्मचारीहरूलाई पनि पासपोर्ट लिँदा पैसा तिर्ने व्यवस्था छैन ।’

उनले भने, ‘नेपाली सेनालाई विदेश जाँदा सर्भिस पासपोर्ट दिने गरिएको छ । सर्भेन्ट पासपोर्ट भनेर ४५ वटा पासपोर्ट जारी भएको छ । राजदूतहरू जाँदा सहयोगीहरू लिएर जाने परम्परा विकास भएको छ ।’ उनले भने, ‘भरखरै परराष्ट्रमन्त्री नियुक्त हुनुभएको छ । परराष्ट्रमन्त्री नियुक्त भएपछि मैले सदनमा अनुहार देख्न पाएको छैन । अनुरोध गर्छु हामीले उठाएका संसदका विषयमा सदनमा आएर जवाफ दिने पद्धतिको विकास होस् ।’

‘केही मन्त्रीहरू विदेश भ्रमण गरेर आएका छन् । विदेश भ्रमण सकेर आउनवित्तिकै पहिला सदनलाई जानकारी गराउनुप¥यो । विदेशमा जाँदा यो काम गर्‍यौँ भनेर सदनलाई जानकारी दिनुपर्छ’, उनले भनेका छन् ।

खतिवडाले भने, ‘पेट्रोल किन्दा हामीले प्रतिलिटर झण्डै दश रुपियाँ बुढीगण्डकीको नाममा कर तिर्छौं । अर्बौं पैसा जम्मा भएको छ । त्यो पैसा नेपाली नागरिकले पासपोर्ट लिँदा अनुदान दिने व्यवस्था त्यहाँबाट गरे पनि हुन्छ ।’

‘अहिले पनि राष्ट्रिय परिचय पत्र लिनका लागि, लाईसेन्स लिनका लागि, पासपोर्ट लिनका लागि रातभरि बस्नुपर्ने, लाईनमा सुत्नुपर्ने, सडकमा सुत्नुपर्ने पद्धति कहिले अन्त्य हुन्छ ?’, खतिवडाले प्रश्न गरेका छन् ।

उनले बैंकबाट ऋण लिएर नतिर्ने समूह कालोमोसो दल्ने भनेर सडकमा उत्रिएको भन्दै सरकारलाई सो विषयमा ध्यान दिन आग्रह गरेका छन् ।

Published : Saturday, 2023 February 25, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया