नेपाली आकाश सुरक्षित बनाउन प्राधिकरण टुक्राउनै पर्छ : सीईओ डा.रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीले नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमाथि कार्यक्षमताको प्रश्न उठेको भन्दै चिन्ता जनाएका छन् ।

पोखरामा भएको जहाज दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि दिन बुधबार काठमाडौंको ठमेलमा नाटाले आयोजना गरेको कार्यक्रममा डा.रेग्मीले प्राधिकरणलाई दुई टुक्रा बनाएर नेपाली आकाश सुरक्षित छभन्ने सन्देश दिनुपर्ने बताए । उनले प्राधिकरणलाई दुई टुक्रा बनाएर अप्रेशन र अनुमगनको कार्यलाई अलग अलग बनाउनुपर्ने बताए ।

प्राधिकरणको गलत कुराको अनुगमन र हस्क्षेप गर्ने निकाय छैन । सोही कारण प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मात्तिएर ‘ध्रुबे हात्ती’ बनेका छन् । अधिकारीले यती एयरलाईन्सको जहाज दुर्घटना भएर ७२ जनाको ज्यान गएको घटनाको जिम्मेवारी लिएका छैनन् । अधिकारीले रमिता हेरेर बसेका छन् ।

उनले भने, ‘क्यानलाई दुई भागमा बाँड्ने र नेपाली आकाश सुरक्षित छभन्ने कुरामा विश्वस्त बनाउनुपर्छ । एकदिनको सार्वजनिक विदा दिएर क्षतिलाई पूरा गर्न सकिदैन । आवश्यक नियम बनाएर जानुपर्छ ।’

उनले भने, ‘नटबोल्ट कस्ने व्यक्ति र हेर्ने व्यक्ति अलग हुनुपर्छ ।’

नेपाली आकाश असुरक्षित रहेको भन्दै युरोपियन यनियनले नेपाललाई कालो सूचीमा राखेको छ । उसले प्राधिकरणलाई अप्रेशन र अनुगमनको कार्य अलग अलग हुनुपर्ने अडान राख्दै आएको छ ।

सीईओ डा.रेग्मीले पोखरामा भएको जहाज दुर्घटनामा निधन भएकाहरूप्रति सच्चा श्रद्धाञ्जलि दिन पर्यटन व्यवसायीहरूले दवाव सिर्जना गरेर नेपाली आकाशलाई सुरक्षित बनाउनुपर्ने बताए ।

‘मौनधारण गरेर मात्रै हुँदैन । मौनधारणलाई शक्तिमा बदलिनुपर्छ’, उनले भने, ‘हामी मौन नै बस्यौँ भने सञ्चा श्रद्धाञ्जलि हुन सक्दैन । सच्चा रुपमा श्रद्धाञ्जलि दिने होभने कारण खोज्नुपर्छ ।’

‘के कारणले नेपाली एयरलाईन्स सुरक्षित बनाउन सकेका छैनौँ’, डा.रेग्मीले भने, ‘बारम्बार अन्तर्राष्ट्रिय जगत र उड्यन क्षेत्रका विज्ञहरूले आकाश सुरक्षित छैन भनेर नेपाल नागरिक उड्यन प्राधिकरणप्रति प्रश्न उठाइरहेका छन् ।’

उनले भने, ‘प्राधिकरणलाई दुइटा टुक्रा बनाउनुपर्छ । अनुगमन र अप्रेशनको भाग फरक हुनुपर्छ भन्ने कुरा उठाइरहेका छन् । यस्तै धेरै कारण र कमजोरीका कारण हवाई दुर्घटना बारम्बार भएका हुन् ।’

‘१०४ वटा दुर्घटना भइसक्दा पनि हामी सचेत नहुने हो भने ठूलो समस्या आउन सक्छ’, बोर्डका सीईओ डा.रेग्मीले भनेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजका दिनमा पनि गिद्धहरू उडीरहेको आफूले देखेको उनले बताएका छन् । गिद्ध र चराहरूका कारण पोखरामा अझै दुर्घटना हुन सक्ने डा.रेग्मीले चेतावनी दिएका छन् ।

‘पोखरा विमास्थलमा अझै पनि गिद्ध उडीरहेका छन् । कुनै पनि बेला दुर्घटना हुन सक्छ भन्ने मलाई लागेको छ’, उनले भने, ‘फोहर व्यवस्थापन गर्न अझै १÷२ महिना लाग्छ भने तयारी गरौँ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि अन्तर्राष्ट्रिय जहाज नआएको र आउन नमानेको उल्लेख गरेका छन् ।

‘विमानस्थलमा कुन चाहिँ अन्तर्राष्ट्रिय जहाज आएको छ र ?’, डा.रेग्मीले प्रश्न गर्दै भने, ‘त्यहाँ गिद्ध नदेखिने अवस्था आएपछि जहाज चलाऔँ ।’

‘फोहरलाई व्यवस्थापन गर्दा पनि गिद्ध आफ्नो आहारको प्रकृतिक खोजीमा जान र बानीमा सुधार गर्न केही समय लाग्छ’, उनले भने, ‘गिद्धले अर्को ठाउँ नखोज्दासम्म विमानस्थल सञ्चालन गर्नु जोखिमयुक्त छ ।’

पोखरा विमानस्थल आन्तरिकको लागि चलाइएको थियो भने २२ अर्ब केका लागि ? किन खर्च गरियो ? भनेर गम्भीर प्रश्न सीईओ डा.रेग्मीले उठाएका छन् ।

उनले भने, ‘२२ अर्बको ठाउँमा एक अर्ब खर्च गरेको भए हुन्थ्यो ! त्यो पनि संसारको उन्नत खालको प्रविधि हाल्दा पनि २२ अर्ब रुपियाँ नेपाली जनतालाई ऋण बोकाइयो । प्रश्न उठेको छ ।’

उनले भने, ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल चलेको छैन । १३ अर्बको अर्को ठेक्का प्राधिकरणले के कारणले निकालेको छ ? ठेकेदारले देश चलाउने हो भने पर्यटन व्यवसायीमाथि जान सक्दैनन् । ठेक्कापट्टाभन्दा माथि उठेर राज्यका निकायहरूले सोँच्नुपर्छ । यो कुरा नउठाउने हो भने पर्यटन व्यवसाय धरासायी हुन्छ ।’

‘अन्य क्षेत्रका नागरिकले पर्यटन क्षेत्र अझै बुझेका छैनन्’, बोर्डका सीईओ डा.रेग्मीले भने, ‘यो बुझ्ने भनेको पर्यटन व्यवासयीले मात्रै हुन् । यसले असर पर्छ । सरकारलाई ध्यानाकर्षण गराउनुपर्छ ।’

Published : Wednesday, 2023 January 18, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया