अक्षरा बाल साहित्य महोत्सवमा भट्टराईदेखि अमर न्यौपानेसम्म

काठमाडौं । विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘अक्षरा बाल साहित्य महोत्वस’ सोमबार राजधानीमा सम्पन्न भएको छ ।

एकदिने बाल साहित्यिक महोत्सवमा पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ बाबुराम भट्टराई, चर्चित साहित्यकार अमर न्यौपानेलगायत विभिन्न लेखक तथा क्षेत्रमा आवद्ध प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति थियो ।

काठमाडौंको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा विद्यालयको आयोजनामा भएको महोत्सवमा साहित्य सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिकाले लेखकसमक्ष साहित्यसँग सम्बन्धित आफ्ना जिज्ञासा व्यक्त गरेका थिए ।

उपस्थित सर्जक र सहभागीबीच जीवनमा साहित्यको महत्व, साहित्यमा कसरी रुची जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने, लैंगिक समानतालगायतका विषयमा दोहोरो चर्चा भएको थियो ।

करीव ४ हजार दर्शकले अवलोकन गरेको महोत्वसमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, सांगीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस्तै, ३ सत्रमा विभिन्न १३ वटा भाषा एवम् साहित्य शिक्षणसम्बन्धी कार्यशाला आयोजना गरिएको थियो । जसमा २४ विद्यालयका करीव ७ सय विद्यार्थी सामेल थिए ।

कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकहरूलाई पनि सहभागी गराउन पाउँदा आफू एकदमै खुसी भएको अक्षराकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताइन् ।

‘हामीले साहित्यिक कार्याक्रमहरू हरेक साता गर्दै आएको भए पनि यसरी साहित्यक महोत्सव नै अहिलेसम्म गरेका थिएनौँ’, प्रधानाध्यापक भट्टराईले भनिन्, ‘यसपालि भने महोत्सव नै गरौँ भनेर पहिलोपल्ट आयोजना गरिएको हो । हामीले यो महोत्सवमा आफ्नासँगै अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकसँग मनाएका छौं । सबै विद्यार्थी र अभिभावकमा साहित्य अध्ययनको संस्कार बनोस् भन्ने हाम्रो चाहना हो ।’

कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले विद्यालय, विद्यालय जोड्ने यस्तो महोत्सवले समाजमा सकरात्मक सन्देश दिने बताए ।

एउटा सफल विद्यार्थी हुनका लागि पाठ्यपुस्तकसँगै साहित्यिक पुस्तक पनि उत्तिकै आवश्यक हुने भट्टराईको बुझाई छ ।

साहित्यले ज्ञानको दायरा बढाउन त सहयोग गर्छ नै, यसले जीवन र जगतलाई हेर्ने र बुझ्ने दायरा पनि फराकिलो बनाउन सघाउने उनले भनेका छन् ।

‘पाठ्यक्रममा आधारित पुस्तकले पेशालाई चाहिने सीप सिकाउँछ भने साहित्यले जीवन जीउने कला सिकाउँछ’, प्रधानाध्यापक भट्टराईले भनेकी छिन् ।

Published : Monday, 2022 March 14, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया